३१ जेठ, काठमाडौं । माओवादी जनयुद्धमा भएका ज्यादति र गम्भीर मानवअधिकार उल्लंघनका घटनामा कारवाहीका माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिने क्रम जारी रहेको छ । यसै क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह र तत्कालीन समयका प्रधानमन्त्रीहरुमाथि पीडितहरुले उजुरु दिने क्रम जारी रहेको छ । दोरम्बा हत्या काण्डदेखि भैरवनाथ गणमा बन्दी बेपत्ता पार्नेमा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी देखिएको भन्दै कृष्णा केसीले आयोगमा आइतबार उजुरी दिएका छन् ।
नेपाली सेनाको भैरवनाथ गणमा बन्दी बनाइएका माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीले पूर्वराजासहित विभिन्न पाँच जना पूर्वप्रधानमन्त्रीहरु समेत दोषी रहेको भन्दै उजुरी दिएका हुन्।
उजुरीमा २०५२ सालदेखि २०६३ सालअघि सत्तामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, लोकेन्द्रवबहादुर चन्द, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको अवधिमा भएका गैरन्यायिक हत्या, यातना एवं बेपत्ता घटनालाई छानबिनको दायरामा ल्याउन आयोग समक्ष माग गरिएको छ।
युद्ध अबधिमा गैरन्यायिक हत्या, अमानवीय यातनालगायत घटनामा संलग्न अरु जिम्मेवार व्यक्तिको खोजबिन गरी कारबाही चलाउनसमेत केसीको माग छ।












