३० जेठ, भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीले राष्ट्रिय सरकारको गृहकार्य सुरु गरेको बताएकी छिन् ।
रफत सञ्चार क्लब भक्तपुरले आइतबारआयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले हाल आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता नबोलाउने तर माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणमा लागि विभिन्न दलहरुसँग छलफल सुरु गरिरहेको बताइन् ।
विभिन्न फुटबाट एक जुट भएको माओवादी केन्द्रमा ढिलोचाँडो मोहन वैद्य किरण, बाबुराम भट्टराई र विप्लव आउने दावी भुसालले गरिन् । अहिले अलग रहे पनि उनीहरुले आफ्नो पहिचान देखाउने गरिने शक्ति प्रदर्शन गर्नु कुनै नौलो नभएको उनले बताइन् ।
मधेस आन्दोलनका जायज मागलाई सम्बोधन गर्दै उनीहरुलाई समेत राष्ट्रिय सरकारमा सामेल गर्न नेकपा माओवादी केन्द्र सक्षम रहने समेत उनले बताइन् ।
नेपालमा प्रत्यक्षरुपमा विदेशी हस्तक्षेप रहेको भन्दै सुगौली सन्धि, राजनीतिक, आर्थिक, जलस्रोत, सिमादेखि विभिन्न क्षेत्रमा हस्तक्षेप भएको उनले उल्लेख गरिन् ।












