२९ जेठ, काठमाडौं । नेपालमा कर नतिर्ने एनसेललाई भौतिक कारवाही गर्ने कार्य नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सुरु गरेको छ । माओवादीले आज देशका विभिन्न जिल्लामा एनसेलका टावरहरुमा आगजनी गरेको छ ।
यसैबीच माओवादी कार्यकर्ताले शनिबार लमजुङको हिलेटक्सार ४, माझगाउँस्थित एनसेल मोबाइल फोनको टावरमा आगो लगाएर ध्वस्त पारेका हुन्
दिउँसो मध्यान्हतिर आएको ४ जनाको समूहले मुख्य ढोकाको ताला फोडेर आगो लगाएको स्थानीयवासिन्दाले बताएका छन् ।
विप्लव माओवादीका विद्यार्थी नेता सुजन अधिकारीले आफ्ना साथीहरुले एनसेलको टावरमा आगो लगाएको र यो आफूहरुको देशव्यापी कार्यक्रम भएको बताए। सरकारी सेवालाई समस्याग्रस्त बनाउने निजी कम्पनीका सेवाप्रदायक संस्थालाई नछाड्ने चेतावनी विप्लव माओवादीले दिएको छ ।
डीएसपी समीरचन्द्र खरेलका अनुसार अपरान्ह साढे ४ बजेतिर खबर आएसँगै चिती प्रहरी चौकीबाट असाई लालबहादुर राना नेतृत्वको प्रहरी टोली घटनास्थल खटिएको घटनास्थलमा पुगेको छ । मूल गेटको ताला फोडेर भित्र पसी चन्द माओवादी कार्यकर्ताले मोविल छर्केर जेनेरेटर लगायतका सामग्रीमा आगलागी गरेको उनले बताए । एनसेलमा जडित विभिन्न तारहरु समेत चुँडाएर छिन्नभिन्न बनाएका छन् भने पाटपूर्जा समेत जलेर नष्ट भएका छन् ।
क्षतिवारे सबै विवरण आउन बाँकी छ । माओवादीले आजै देशका अन्य स्थानमा समेत एनसेलका टावरहरुमा आगजनी गरेको छ ।












