२९ जेठ, काठमाडौं । युवाकालमा अमेरिका बसेर बुढेसकालमा नेपाल फर्केका अभिनेता सरोज खनालले नेपालका चर्चित नेताहरुसँग अमेरिकाको ग्रिन कार्ड रहेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि उनीमाथि अदालतमा मुद्दा हाल्ने तयारी भएको छ ।
एक नेपाली टेलिभिजनको कार्यक्रममा राप्रपा नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री डा. रामशरण महत लगायतसँग अमेरिकाको ग्रिन कार्ड रहेको ठोकुवा खनालले गरेपछि उनी आलोचित भएका हुन् ।
खनाललाई आफूले व्यक्तिगत रुपले नचिन्ने तर उनको कलाको आफू प्रशंसक भएको तर त्यस्तो व्यक्तिले गैरजिम्मेवार कुरा गरेको राप्रपा नेता लोहनीले बताए । लोहनीले नेपालदेशडटकमलाई प्रतिक्रिया दिंदै भने – ‘खनालसँग ग्रिन कार्ड हुँदैमा सबैसँग ग्रिन कार्ड हुन्छ भन्ने उनको सोच निम्नस्तरको लाग्यो । यदि उनले सार्वजनिक रुपमा माफी मागेनन् भने ममाथि भएको चरित्र हत्याविरुद्ध अदालतमा मुद्दा दायर गर्ने छु ।’ मुद्दा दायर गर्ने विषयमा आफूहरुले वकिलसँग परामर्श गरिरहेको पनि लोहनीले बताए ।
खनालको आरोपबारे लोहनीले आक्रोसित हुँदै भने – ‘खनालको भनाइ सरासर झुट र कपटपूर्ण हो। नेपालको कानुनले कसैलाई पनि अर्को व्यक्तिको अपमान र चरित्रहत्या गर्ने छुट दिएको छैन। यही अपराध खनालले मेरो विरुद्धमा गरेका छन्।’
कांग्रेस नेता डा. रामशरण महतले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।













