२८ जेठ, काठमाडौं । देश टुक्र्याउने धम्की दिंदै आएका सिके राउतसँग पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको निकटता बढेको छ ।
दशरथ रंगशालामा आइतबार हुने पार्टीको घोषणा कार्यक्रममा देश टुक्र्याउन खोज्ने सिके राउतदेखि नाकाबन्दी लगाएर नेपाली जनतालाई आघात पुर्याउने मधेसी मोर्चालाई भट्टराईले गुहारेका हुन् । पार्टी घोषणामा मान्छे ल्याउन बाबुरामले राष्ट्रघात गर्नेहरुसँग हात जोडेको विश्वस्त स्रोत बताउँछ ।
मधेसी दलको अनशनस्थलमा भट्टराई आफै विहीबार गएर मधेसी मोर्चाका नेतालाई नजिक्याउने कोसिस गरे भने सिके राउतसँग कुरा गर्न आफ्ना निकट सहयोगी नेता रामकुमार शर्मासहितलाई विशेष जिम्मेवारी दिएका छन् ।

राउतले आफ्नो अभियानमा समर्थन जुटाउन विभिन्न समूह र व्यक्तिसँग गोप्य भेटवार्ता गर्दै आएका छन्। ललितपुरमा एक समर्थकको निवासमा बस्दै आएका राउतलाई नयाँ शक्तिका प्रभावशाली नेताले भेट गरेका छन्। भट्टराईले आफू संवैधानिक समितिको सभापति रहेका बेला सिके राउतलाई नेपालबाट तराई टुक्र्याउन जनमतसंग्रहको व्यवस्था राख्न पाउनुपर्ने अभिव्यक्ति रेकर्ड गराएका थिए।
राउतलाई स्थापित गर्न भट्टराईको ठूलो हात रहेको मानिन्छ। भट्टराई प्रधानमन्त्री छँदा राउत अमेरिकाबाट नेपाल आई रातारात मधेसको राजनीतिमा प्रवेश गरेका हुन् । भट्टराईले देश टुक्र्याउने अभियानमा लागेका सिके राउतसँग आफ्ना विश्वासपात्रमार्फत कुराकानी गर्नुको उद्देश्य भने स्पष्ट हुनसकेको छैन।
यसबारेमा जिज्ञासा राख्दा नयाँ शक्तिका एक नेताले आफ्नो पार्टी घोषणामा राउतलाई पनि आमन्त्रित गरिएको बताए।बुधबार बबरमहलमा भट्टराई निकट नेता रामकुमार शर्मा र राउतबीच वार्ता भएको थियो।
विशेष अदालतले बुधबार ४५ हजार धरौटीमा राउतलाई रिहा गरेको थियो। विशेष अदालतका न्यायाधीश पवनकुमार शर्मा, भूपेन्द्र राई र प्रभा बस्नेतको संयुक्त इजलासले सीके राउतलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
सिके राउतविरुद्ध राज्यविप्लवविरुद्ध एक दर्जन मुद्दा चलिरहेका छन्। राउतलाई राज्यले समाउने र न्यायपालिकाले समान्य धरौटीमा रिहा गर्ने कार्य भइरहेको छ।
नेपालमा अस्थिरता निम्त्याइरहने भारतीय योजनाअनुसार नै भट्टराईले यस्तो कार्य गरेको भनी आलोचना हुँदै आएको छ । अमेरिकाको समेत सहयोग रहेको मानिने सिके राउतको गतिविधिमार्फत भट्टराईले आफ्नो दललाई अमेरिकी सहयोग ल्याउने कोसिस गरेको समेत विश्लेषण भैरहेको छ ।











