२७ जेठ, काठमाडौं । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले पेशी मिलाई मिलाई आफन्तका मुद्दामाथि सुनुवाइ गर्ने र फैसला गर्ने गरेको खुलासा भएको छ । मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरीत मुद्दा हेरेर कार्कीले आदेश दिएको खुलासा भएको हो ।
कार्की र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितिपत्नी शान्ता दीक्षित कार्कीकी भतिजी पर्दछिन् । तर हाडनाता सम्बन्ध रहेको व्यक्तिको मुद्दा हेर्न नमिल्ने भए पनि कार्कीले आफ्नै बेञ्चमा पेशी मिलाएर कनकमणिलाई रिहा गर्ने आदेश दिएकी थिइन् ।
शान्ताले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कार्कीले सुनुवाई गरेकी थिइन् ।
सुशीला र दीक्षितपत्नी शान्ताको पुस्तौली थलो धनकुटाको लेगुवा हो । स्रोतका अनुसार सुशीला र शान्ता अर्जुनवीर बस्नेतका सन्तति हुन् । अर्जुनका ती छोरा थिए नरवीर, चन्द्रवीर र तिलकविक्रम बस्नेत । सुशीला तिलकविक्रमको पनातिनी हुन् भने शान्ता नरवीरकी खनातिनी हुन् । यो नाताले उनीहरु फुपू भतिजी पर्छन् ।
मुलुकी ऐनको अदालती बन्दोबस्तीको ३० नम्बरअनुसार न्यायाधीशले नातासम्बन्ध भएका कुनै पनि मुद्दा हेर्न मिल्दैन । के अब प्रधानन्यायधीशका लागि सिफारिश भएकी सुशीला कार्कीलाई महाअभियोग लगाउला ? या एमाले नेता तथा कार्यकर्तालाई न्यायधीश नियुक्त नगर्न भनेको रिट कार्कीकै आदेश भएपछि सरकारले पुरस्कृत गर्ला ? स्मरणीय छ कार्की विदेश भ्रमणमा गएका वेला न्यायधीश सिफारिश प्रकरणमा रिट दर्ता भएपछि भ्रमण छोट्याएर उनी दौडँदै नेपाल फर्किएकी हुन् ।













