२६ जेठ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र उनका सहयोगी नेता खुमबहादुर देउवाविरुद्ध पत्रकार हत्याको किटानी जाहेरी परेको छ । लोकप्रिय पत्रकार पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको हत्यामा तत्कालीन प्रधानमन्त्री देउवा र तत्कालीन गृहमन्त्री खड्कालाई कारवाहीको माग गर्दै सेनकी पत्नी तक्मा केसीले सत्य निरुपण तथा मेलमिलाप आयोगमा किटानी जाहेरीसहित उजुरी दिएकी हुन् ।
केसीले देउवा, खड्का र तत्कालीन डिएसपी अमरसिंह शाह र विक्रम थापालाई पनि हत्याको आरोप लगाउँदै आयोगमा उजुरी दर्ता गरेकी छन् ।
केसीले मानव अधिकारको गम्भीर उल्लङ्घन गर्ने पक्ष, व्यक्तिको थाहा भएसम्मको नाम, थर, ठेगाना र हुलिया, तत्काल कार्यरत र हाल कार्यरत कार्यालयको नाम र ठेगाना समेत उपलब्ध गराएकी छिन् । काठमाडौंको ह्वाइटहाउस कलेजनजिकैबाट सेनलाई पक्राउ गरी युनिफाइड कमाण्डको नेतृत्व तहका पदाधिकारीको ठाडो आदेशमा सेनको हत्या भएको र तत्कालीन प्रहरी प्रमुख प्रदिप शमशेर राणालाई समेत कारवाही गर्न उनले माग गरेकी छिन् । तत्कालीन जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई समेत कारवाहीको माग गरिएको छ । जनआस्था पत्रिकामा समाचार आएपछि मात्रै श्रीमान कृष्ण सेनको हत्या भएको आफूले जानकारी पाएको भन्दै केसीले दिएको उजुरीको साक्षीमा जनआस्थाका सम्पादक किशोर श्रेष्ठ तथा पत्रकार महासंघका सचिवद्वय संगीता खड्का र प्रभात चलाउनेलाई राखेकी छिन् ।












