२६ जेठ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रोकेको सरकारले उपराष्ट्रपति नन्दबहादुर पुनको चीन भ्रमण भने स्वीकृत गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले उपराष्ट्रपतिको जेठ २८ देखि असार २ गतेसम्म हुने चीन भ्रमण स्वीकृत गरेको हो । यसअघि राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम मन्त्रीपरिषद्ले स्वीकृत नगरेका कारण अनिश्चितकालका लागि रोकिएको छ । यही विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिबीच दूरि बढेको समाचारहरु प्रकाशनमा आएका छन् ।
वुधबारको मन्त्रीपरिषद् बैठकले दुई सचिवको सुरुवा गरेको छ । बैठकले सम्पति शुद्धिकरणसम्बन्धी नयाँ नियमावलीलाई मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलको लागि पठाउने निर्णय गरेको छ । बैठकले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिंचाई मन्त्रालय र सिंचाई मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गर्ने निर्णय गरिएको उद्योगमन्त्री सोम प्रसाद पाण्डेले जानकारी दिए ।
बैठकले जनआन्दोलनकी घाइते सिन्धु उप्रेतीको उपचारको लागि १६ लाख ५६ हजार दिने निर्णय गरेको छ । झापाकी उप्रेतीको थाईल्याण्डमा उपचार भइरहेको छ ।











