विश्वकै मानवको एउटा अनिवार्य आवश्यकता बनेको छ मार्क जुकरबर्गले संचालन गरेको सामाजिक संजाल फेसबुक । फेसबुक मानिसको अनिवार्य आवश्यकताजस्तै बने पनि आफ्नो यसमा वास्तविक कुरा लेखिन्छन् या आडम्बर देखाउनका लागि मात्र ? या अन्य साथीको चियोचर्चो गर्ने तर लाइक नगर्नेहरुका लागि पनि हो फेसबुक । पढ्नुहोस् विस्तृतमा :
मिस्टर नेगेटिभ : यो बर्गमा पर्ने मान्छेहरु सधैं अरुको आलोचना र गाली मात्र गरेर स्टाटसहरु लेख्छन । शेरे चोर, ओली फटाहा, गगन यस्तो, प्रचण्ड उस्तो आदी । साथै अरुको पोस्ट्मा पनि सधैं नकारात्मक कमेन्ट गर्छन: गोली हान्दे, फाँसी दे, काटी दे आदी । यस्ता मान्छेलाई फेसबूकबाट हटाइदिनुहोस्, किनकी फेसबूक पनि एउटा समाज हो जहाँ खराब ब्यक्तिको संगतले हामीमा पनि खराब प्रभाव पर्छ।
मिस्टर गुनासो : यो कोटिका मान्छेहरु सधैं गुनासो गर्छन्। बिजुली गयो उफ्फ, मोबाइलमा चार्ज सकियो उफ्फ, गर्मी भयो उफ्फ, पेट दुख्यो उफ्फ, पानी आयो उफ्फ, हावा चल्यो उफ्फ । यस्ता कुराले तपाईंको पनि मनस्थितिमा प्रभाव पार्ने भएकोले यस्ता मान्छेलाई फेसबूकबाट हटाउदा नै बेस हुन्छ ।
अवस्था कुमार : यो बर्गमा पर्नेहरुले जे काम गरे पनि फेसबूकमा हाजिर गरी हाल्छन । खाँदै गरेको अवस्था, पिउदै गरेको अवस्था, सुत्न लागेको अवस्था , निदाएको अवस्था, कुन दिन सपना देख्दै गरेको अवस्था लेख्न बेर छैन । यस्ता मान्छेहरुलाई नहटाउदा पनि हुन्छ , कहिलेकाही हास्ने मौका मिल्छ ।
बिजनेस लाल : यो कोटिमा पर्ने मान्छेहरुले सधै फेसबूकमा आफ्नो बिजनेसको प्रचार मात्र गरिरहेका हुन्छन् । मेरो स्कुल यस्तो, मेरो होटल यस्तो, मेरो कन्सल्टेन्सीमा आउनु , मेरो ट्रैनिङ सेन्टर यस्तो आदी । हुन त सामाजिक सन्जालबाट व्यावसायिक फाईदा लिनु राम्रो हो तर सधै त अरुलाई पनि वाक्क लाग्छ नि हउ । (कुरो)
मिस्टर क्यान्डी क्रश : कहिले काही तपाईंलाई नोटिफिकेशन आउछ अनी खोलेर हेर्दा फलानो invited you to play candy crush भन्छ । यदी यस्तो आयो भने त्यो व्यक्तीलाई सिधै ब्लक नगरनुहोला किनकी त्यो भाईरसले गर्दा पनि हुनसक्छ ।
सनसनी प्रसाद : यस्ता मान्छेहरुलाई सनसनीपूर्ण हल्ला फैलाउन खुब मन पर्छ। कुनै ठाउँमा गाडी पल्टेर दुई जना घाइते भएका छन भने “दुई दर्जन मरे” भनेर लेख्छन , कुनै सडक दुर्घटनामा बिभत्स रगत र मरेको लासहरुको फोटो खोजी खोजी शेयर गर्छन्। एउटा घर आगोले जलेको छ भने पुरै गाउँ आगोले सखाप भन्दै लेख्छन । कहिले काँही त ठिकै हो तर सधैं यस्ता सामाग्री शेयर गर्ने मान्छेहरुलाई फेसबूकबाट हटाएको राम्रो किनकी नराम्रो समाचारले तपाईंको पनि दिन खराब हुन्छ ।
मिस्टर चियोचर्चो : यस्ता मान्छेहरू आफुले फेसबुकमा कुनै अपडेट गर्दैनन तर अरुका प्रोफाइल र फोटाहरु खोजी खोजी हेर्छन । अरुकै बारेमा चियो गर्न उनिहरुले फेसबूक बनाएका हुन्छन् । चाहे जतीसुकै राम्रो स्टाटस र फोटो राख्नुहोस् , उनिहरुले Like , Comment गर्लान भनेर आश नगरे हुन्छ ।












