२१ जेठ, काठमाडौं । बजेटको आलोचना गर्ने सांसदहरुलाई चिन्ता नलिन अर्थमन्त्री विष्णु पौडेलले आग्रह गरेका छन् । बजेटमाथि उठेका प्रश्नको शुक्रबार संसदमा जवाफ दिँदै अर्थमन्त्री पौडेलले बजेटको आकारका विषयमा चिन्ता नलिन सांसदहरुलाई आग्रह गरेका हुन् ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा बजेटको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट प्रणालीका आधारभूत सिद्धान्त र मूल्य मान्यताअनुरुप नै बजेट निर्माण गरिएको भन्दै कार्यान्वयन चुनौतिपूर्ण हुनेतर्फ आफू सचेत रहको बताए । जवाफ दिने क्रममा मन्त्री पौडेलले आलोचक सांसदलाई यसबारे आफू जानकार रहेको र यसबारे आफूलाई उपदेश दिन आवश्यक नभएको जवाफ दिएका थिए । विगतका अनुभवलाई आगामी वर्षको बजेट कार्यान्वयनको आधार नबनाउन उनले आग्रह समेत गरे । भूकम्प र नाकाबन्दीले खस्किएको अर्थतन्त्रलाई आधार बनाएर आकार निर्धारण गर्दा अर्थतन्त्रमा सुधार नआउने भएकाले नै यो आकारको बजेट प्रस्ताव गरिएको उनले दावी गरे ।
![cy{dGqLaf6 ah]6 k|:t't Joj:yflksf–;+;bsf] zlgaf/sf] a}7sdf cy{dGqL lji0f'k|;fb kf}8]nn] cfufdL cfly{s jif{ @)&#÷&$ sf] /fh:j / Joosf] jflif{s cg'dfg -ah]6_ k|:t't ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;](https://nepaldesh.com/wp-content/uploads/2016/06/Bishnu-paudel-finance-minister-1024x733.jpg)
करिब ६ महिना लामो नाकाबन्दीका बावजुद लक्ष्यअनुरुपको राजस्व उठाउन आधार तयार पारेको मन्त्री पौडेलले दावी गरे । भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा चालु आर्थिक वर्षको भन्दा ५० करोड बढाएको, चालु खर्चको हिस्सा ५८.९ प्रतिशत रहेको उनको भनाइ छ । विगतको ५.८ प्रतिशत आर्थिक वृद्धिको शिक्षाबाट ६.५ प्रतिशतको आर्थिक वृद्धि हुनेमा शंका नगर्न पनि उनले आग्रह गरे ।
बजेट कार्यान्वयनका लागि सबै सरकारी निकायलाई प्रभावकारी तुल्याइने भन्दै मन्त्री पौडेलले बजेट फ्रिज नहुने व्यवस्था मिलाउन छुट्टै निकाय बनाइने आश्वासन समेत संसदलाई दिए ।











