२१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि व्यवस्थापिका संसदमा प्रस्तुत गरेको बजेट आज पारित हुँदै छ । जेठ १५ गते संसदमा प्रस्तुत भएर सोमबारदेखि छलफल सुरु भएको बजेट आज पारित हुने भएको हो । सांसदहरुले बजेटमाथि बोल्ने क्रम सकिएसँगै आज अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिएपछि बजेट पारित गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्रीले जवाफ दिएपछि आजै बजेट पारित गर्ने कार्यक्रम रहेको एमाले सांसद वैजनाथ चौधरीले जानकारी दिए ।
बजेटमाथि विहीबारसम्म १ सय ५० सांसदले धारणा राखेका छन् । आज केही सांसद, शीर्ष नेताले मन्तव्य राखेपछि सांसदहरुले राखेका प्रश्नको जवाफ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिने कार्यक्रम रहेको छ ।
छलफलका क्रममा सत्तापक्षका सांसद बजेटको समर्थन गर्दै त्यसको प्रतिरक्षामा उत्रिए पनि प्रमुख प्रतिपक्षी र सत्तारुढ दलकै केहीले भने बजेटको आलोचना गरेका छन् ।
बिहीबारको बैठकमा कांग्रेसका डा प्रकाशशरण महत, गगनकुमार थापा, महेन्द्र यादवलगायतले बजेटको चर्को आलोचना गरेका थिए । सत्तापक्षका तर्फबाट गोकर्ण विष्टलगायतका सांसदले भने बजेटको बचाउ गरेका थिए ।












