१९ जेठ, काठमाडौं । आगामी आर्थिक बर्षका लागि सरकारले ल्याएको बजेटले मुलुकको सम्मुन्नत विकास गर्न नसक्ने भन्दै प्रतिपक्षीदलले आलोचना गरेका छन ।
बजेटमाथिको छलफलको दोश्रो दिन बुधबार व्यवस्थापिका संसद बैठकमा धारणा राख्ने प्रतिपक्षी दलका सांसदले बजेटको आकार बढ्दैमा त्यसले मुलुकको सम्मुन्नत विकास गर्न नसक्ने भन्दै आलोचना गरेका हुन् । पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद महेश आचार्यले मुलुकको ग्रार्हस्थ उत्पादन तथा विकास बजेट कार्यान्वय गर्ने क्षमता नबढाइकन आकार मात्रै बढेको बजेटबाट आर्थिक विकास हुन नसक्ने बताए । पुँजीगत खर्च अस्वभाविक रुपमा घटेका बेला ठूलो आकारको बजेट ल्याइएको भन्दै उनले उठाउन नसक्ने गरी राजश्व र वैदेशिक सहयोगको अपेक्षा गरिएको दावी गरे ।
सांसद आचार्यले चर्को मुल्यवृद्धिले सिङ्गो अर्थतन्त्रलाई च्यापेका बेला सामाजिक सुरक्षा भत्ता पनि निस्प्रभावी हुने ठोकुवा गरे ।
बजेटमा सैद्धान्तिक सहमति जनाएपनि सत्तारुढ दलका अधिकांश सांसदले बजेटमा समावेश योजना र विनियोजित रकममा असन्तुष्टी जनाएका छन् । नेकपा एमालेका सांसद रवीन्द्र अधिकारीले विद्युत् विकास र राजमार्ग विस्तारमा बजेट कोसेढुङ्गा सावित हुने भन्दै सरकारको बचाऊ गरे । उनले बजेटले अहिलेसम्म हुन नसकेको त्रिदेशीय करिडोर बन्ने गरी उत्तर दक्षिण राजमार्गको परिकल्पना गरेकाले त्यसले विकास र समग्र अर्थतन्त्र उकास्न ठुलो मद्दत पुर्याउने दावी गरे ।
सांसद विकास कोष बढाउन निकै कसरत गरेका रविन्द्र अधिकारीले यस विषयमा भने बोलेनन् । सांसद विकास कोष साढे तीन करोड पुर्याइएकोमा भ्रष्ट्राचार हुने भन्दै आलोना भैरहेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्र कार्कीले बजेटको सैद्धान्तिक समर्थन गर्दै जमिनको वर्गीकरण, किसानलाई पेन्सन दिने सन्र्दभमा कमजोर निर्णय गरेको टिप्पणी गरे । जमिन र किसानका बारेमा अझै केही बुझ्न बाँकी नरहेको भन्दै उनले बजेटमा सरकारले प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको आरोप लगाए ।












