६ जेठ, काठमाडौं । लामो समयको कसरतपछि माओवादीका प्रभावशाली नेताहरु मानिने प्रचण्ड, बादल र मातृका एक भएका छन् । तर उनीहरुबीच एकता हुने क्रममा पार्टीका केन्द्रीय स्तरका नेताको संख्या भने ७ सय बनाउनुपरेको छ । नेता मात्र रहेको तर कार्यकर्ता नरहेको मणि थापाको पार्टी पनि यसमै थपिएको छ । छिट्टै महाधिवेशन गर्ने गरी ६९९ जना रहेको आयोजक कमिटी त बनाइएको छ तर विगतमा जस्तै पार्टी नेतृत्वले आफ्ना निकटलाई टीका लगाएर केन्द्रमा ल्याउने खेल भएमा अहिले एक भएकाहरु फेरि अलग्निे निश्चित छ ।
विभिन्न टुक्रामा विभाजित माओवादीहरुबीच विहीबार एकता गरी नेकपा माओवादी केन्द्र गठन भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत माओवादी, मोहन वैद्यबाट फुटेको रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेत्रविक्रम चन्दबाट फुटेको नेकपा माओवादी , नेकपा क्रान्तिकारी माओवादी, बाबुराम भट्टराई समुहबाट विभाजित नयाँ शक्ति लगाएत साना कम्युनिष्ट पार्टी मिलेर नेकपा माओवादी केन्द्र गठन भएको हो ।
कम्युनिष्टका पार्टीका नेता कष्णदास श्रेष्ठको अध्यक्षतामा बिहीबार काठमाडौमा एकता घोषणा सभा भएको थियो । घोषणा सभालाई सम्बोधन गर्दे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरुको पराजयका दिन सकिएको घोषणा गरे । एकतासँगै प्रचण्डले माओवादीका पराजयका दिन सकिएको र विजयको दिन सुरु भएका धारणा व्यक्त गरे ।
पार्टी एकता, माओवादीहरुको एकता मात्र नभई सच्चा कम्युनिष्टहरुको र राष्ट्रिय एकता पनि भएको प्रचण्डले बताउनुभयो । यो एकता वृहत शान्ति सम्झौता अनुसार सत्य निरुपणको काम गर्ने सुनिश्चित भएको दावी उनले गरे । प्रचण्डले यो वर्षको अन्त्यसम्म पार्टीको महाधिवेशन गर्ने र कार्यदिशालाई विकसित गर्दै जाने उल्लेख गरे । उनले स्थानीय, प्रादेशिक र केन्द्रको चुनावमा जाने र शान्ति प्रक्रियामा आउँदाको दिनमा जस्तै पार्टीलाई जीवन्त बनाउने समझदारी भएको बताए । माओवादी शक्तिले विगतका गल्ती नदोहोर्उने बरु गल्तीबाट पाठ सिकेर अगाडि बढ्ने प्रतिबद्धता प्रचण्डले गरे ।
पार्टी एकतापछि केन्द्रले ६ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको नेता राम वहादुर थापा बादलले जानकारी दिए ।
केन्द्रको बैठक केही समयमा नै बस्ने र जनसभा, भेला तथा संगठन विस्तार गर्ने काम सुरु हुने बताइएको छ ।












