२२ वैशाख, काठमाडौं । मन्त्रीपरिषद् बैठक डाकेर मन्त्रीहरुलाई दुई घण्टासम्म बैठक कक्षमा कुराएपछि आइपुग्ने प्रधानमन्त्री केपी ओलीलाई आज एमाओवादीले त्यसै गरेर बदला लिएको छ । सार्वजनिक समारोह होस् या महत्त्वपूर्ण बैठक ओली कहिल्यै समयमा पुग्दैनन् । दुई दिनपहिले त उनको विमान नै छुटेको थियो । अति ढिलो गरेपछि विमान छुट्दा एमाले नेता माधव नेपाल त्यो कार्यक्रममा प्रमुख अतिथि बन्दै ओलीको रक्तचाप घटेकोले नआएको भन्दै कार्यक्रममा ढाँटेका थिए । एमाओवादी मन्त्रीहरुले औपचारिक र अनौपचारिक रुपमै भन्दै आएका थिए अहिलेको प्रधानमन्त्रीलाई समयको कुनै महत्त्व छैन ।
अरुलाई घण्टौं कुराउने बानी परेका ओलीलाई एमाओवादीले सत्तारुढ दलको बैठकमा ढिलो गएर बदला लिएको हो । एमाओवादीले पहिले नै आफ्नो बैठक राखेको थियो तर ओलीले सरकार बचाउनका लागि सत्तारुढ दलको बैठक डाके साँझ चार बजेको समयमा । ओलीका लागि पर्खनु भनेको एकएक सेकेण्ड पनि जब घण्टा बन्दै थियो तब एमाओवादी अध्यक्षले पनि उनीसँग राम्रै बदला लिएर अढाई घण्टापछि वालुवाटार पुगे । विचरा ओलीले दुई घण्टा त प्रचण्डलाई पर्खे किनभने दुई घण्टा अरुलाई कुराउने त उनको बानी नै थियो । तर जब दुई घण्टा पनि वित्यो तब प्रचण्डविनाकै बैठक ओलीले सुरु गरेका थिए ।












