२२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको नाम जप्ने तर सुटुक्क होटलमा गएर भारतीय राजदूतसँग सरकार बचाइदिन अनुरोध गर्ने एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । सरकार ढल्ने निश्चित भएसँगै अब प्रधानमन्त्री को बन्ने भन्ने दौड सुरु भएको छ । प्रधानमन्त्री बन्ने दौडमा पूर्वप्रधानमन्त्रीहरुदेखि अहिलेसम्म उपप्रधानमन्त्री नै नबनेका व्यक्तिहरु तथा संसदमै नरहेका व्यक्ति समेत रहेका छन् ।
सत्ता साझेदार एमाओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेका कारण यतिवेला प्रधानमन्त्रीका प्रमुख दावेदार प्रचण्ड देखिएका छन् । ओली सरकार ढाल्न सहयोग गरे प्रचण्डकै प्रधानमन्त्रीत्वमा कांग्रेस पनि सरकारमा सहभागी हुने कांग्रेस सभापति शेरबहादुर देउवाको समेत आश्वासन पाएका कारण पनि प्रचण्ड प्रधानमन्त्रीका लागि पहिलो दावेदार मानिएका हुन् ।
तर नेपाली राजनीतिमा आश्वासन र प्रतिबद्धता पूरा भएको कमै मात्र पाइन्छ । त्यसमा पनि कांग्रेसले त अरु दललाई दिएको मौखिक आश्वासन वा भद्र सहमतिलाई पालन नगरेका धेरै उदाहरण छन् । त्यसकारण पनि आश्वासन पाउँदैमा प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा निश्चित छैन । त्यसो त एमाओवादी आफैं पनि सहमतिय सरकार बने प्रचण्डको नेतृत्वमा सरकार बनाउने बहुमतिय भए देउवाको नेतृत्व मान्ने एमाओवादी योजना छ । प्रचण्ड नेतृत्वमा सरकार बने पनि सत्ता साझेदारका कारण काम गर्न नसकिने र एमाओवादी झनै बद्नाम हुन सक्ने एमाओवादी नेता गोपाल किराँतीको भनाइ छ ।
नयाँ प्रधानमन्त्रीको दोस्रो सम्भावित उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवा नै हुन् । ठूलो दलको सभापति भएको र भारतको पनि चाहनाका कारण देउवा प्रधानमन्त्री बन्ने सम्भावना बढी छ । कांग्रेसभित्रैका पीडित पात्र रामचन्द्र पौडेलले प्रधानमन्त्री पद पाउने सम्भावना यतिवेला चर्चामा पनि छैन । त्यसमा पनि नातीको पास्नीमा अमेरिका गएका बेला यता नयाँ सरकार गठनको वातावरण बनेको छ । पौडेलले आफूलाई प्रधानमन्त्री बनाउन देउवासँग आग्रह गर्न सक्छन् तर भारतले पौडेललाई प्रधानमन्त्री नमान्न सक्छ । देउवा आफू प्रधानमन्त्री बन्ने वातावरण नआए आफ्ना प्रिय पात्र विमलेन्द्र निधिको नाम समेत प्रधानमन्त्रीका लागि प्रस्ताव गर्न सक्छन् । किनभने, कांग्रेस महाधिवेशनमा आफू सभापति भए निधिलाई प्रधानमन्त्री बनाउने आश्वासन देउवाले दिएको कांग्रेस गोप्य स्रोत बताउँछ ।
प्रधानमन्त्रीको अर्का दावेदार व्यक्ति हुन् पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपाल । तर यसमा एमाले अध्यक्ष ओलीले सहयोग नगर्न सक्छन् । यद्यपि ओलीले पार्टीमा एकलौटी गर्दागर्दै पनि अन्य राजनीतिक दलका विरुद्ध नेता नेपालले ओलीलाई साथ दिएका कारण एउटा विकल्पका रुपमा नेता नेपालको नाम अगाडि आउन सक्छ । पार्टीभित्र पकड नरहे पनि झलनाथ खनाल पनि फेरि प्रधानमन्त्री बन्ने कसरतमा छन् ।
नयाँ प्रधानमन्त्रीको दौड सुरु भए पनि ओली आफै प्रधानमन्त्रीमा टिकिरहने प्रयास जारी राखेका छन् । वर्तमान संविधानमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा कानुनी जटीलता रहेका कारण यसको फाइदा उठाउँदै ओलीले पदबाट राजिनामा नदिने तयारी गरेका छन् । नैतिकताका आधारमा काम नगर्ने ओलीलाई सत्ता साझेदार एमाओवादीले सरकार छाड्ने कुरा गर्दैमा राजिनामा नदिने मुडमा छन् । त्यसकारण ओली अझै पनि प्रधानमन्त्रीका अर्का दावेदार हुन् ।
नयाँ सरकार गठनका लागि भारतले आफ्ना विश्वास पात्रलाई प्रधानमन्त्री बनाउन चाहन्छ जुन सधैं भैरहेको छ । भारतले प्रधानमन्त्री बनाउन चाहेका व्यक्ति डा। बाबुराम भट्टराई संसदमा नभएका कारण भारतले आफ्नो विश्वास पात्र खोजिरहेको छ । भारतले चाहेमा वर्तमान संविधान संशोधन गर्ने वातावरण बनाएर पनि भट्टराईको नयाँ शक्तिलाई संसद र सरकारमा सामेल गराउने योजना अघि आउन सक्छ । यसकारण पनि अनौठा पात्रहरु नयाँ प्रधानमन्त्रीको दौडमा रहेको प्रष्ट हुन्छ ।














