२१ वैशाख, काठमाडौं । काठमाडौंको बीचमा रहेको पुरानो बसपार्क वुधबारदेखि खुल्लामंचमा सारिँदै छ । यसका लागि खुल्लामंचलाई कालोपत्रे गरेर बसपार्क बनाइएको छ । सार्क शिखर सम्मेलनताका हरियो घाँस रोपिएको खुलामञ्चलाई कालोपत्रे वसपार्कमा परिणत गरिएको हो । खुलामञ्चको आधा भागलाई बसपार्कका रुपमा परिणत गरिएको छ । वुधबारदेखि नै खुल्लामंच बसपार्क संचालनमा आउने भएको हो । वुधबारदेखि नै पुरानो बसपार्कबाट बस आवागमन बन्द हुने छ ।
तर हाल संचालनमा रहेको पुरानो बसपार्क सधैंका लागि बन्द गरेर खुल्लामंचलाई दीर्घकालीन बसपार्क बनाउन भने लागिएको होइन ।
पुरानो बसपार्क रहेको स्थानमा टावर निर्माणको काम थाल्न बसपार्क सारिएको हो। काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोइ विल्डर्स प्रा.लि. बीच पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण गर्ने सम्झौता भएअनुसार अस्थायी बसपार्क खुल्लामंचमा निर्माण गरिएको हो । सम्झौताअनुसार कम्पनीले आफ्नै लगानीमा टावर बनाएर ३० वर्षसम्म चलाउने छ।
१२ तल्ला बन्ने टावर टावर निर्माणका लागि छ महिनापहिले नै शिलान्यास भैसकेको छ ।
हाल पुरानो बसपार्क रहेको ठाउँमा दुई तल्लेसम्मको अन्डरग्राउन्ड बसपार्कसहितको टावर निर्माण हुनेछ । टावर निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।












