१० वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरेको छ । दीक्षितले गैरकानुनी रुपले सम्पत्ति आर्जन गरेको र अख्तियारलाई समेत झूटो विवरण दिएको भन्दै शुक्रबार अख्तियारले उनलाई पक्राउ गरेको हो । अख्तियारबाट खटिएको प्रहरी टोलीले ललितपुरको पाटन ढोकाबाट उनलाई पक्राउ गरेको थियो ।
दीक्षितले साझा यातायातको सम्पत्ति दुरुपयोग गरेकोले पक्राउ गरी छानविन थालिएको अख्तियारले विज्ञप्तीमार्फत जानकारी दिएको छ । दीक्षितले अख्तियारलाई दिएको सम्पत्तिसम्बन्धि विवरण समेत झूटो पाइएको अख्तियारको विज्ञप्तीमा उल्लेख छ ।
दीक्षितले पक्राउ पूर्जी लिन नमानेपछि प्रहरीले मुचुल्का उठाएर नियन्त्रणमा लिएको थियो
अख्तियारले केही समय अघिदेखि नै दीक्षितको सम्पत्ति छानबिन थालेको थियो । हिमाल मिडियाका संचालक रहेका दीक्षितले मिडियाको नाउँमा विभिन्न दातृ मुलुकबाट रकम लिने गरेको तथ्याङ्क यस अघि नै सार्वजनिक भएको थियो ।
दीक्षितले माओवादी शक्तिविरुद्ध संयुक्त राष्ट्र संघमा समेत प्रभाव पारेको आरोप माओवादी नेताहरुले लगाउँदै आएका छन् । पूर्वमाओवादी नेता बाबुराम भट्टराईले त कनकमणिलाई डलरमणि भन्दै सम्बोधन गर्ने गरेका थिए । जनयुद्धकालका घटनालाई अतिरञ्जित गरेर उचालेको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल समेत कनकमणिसँग रुष्ट भएको अभिव्यक्ति दिने गरेका थिए ।













