४ वैशाख, काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान खारेज गरेर देखाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनौति दिएका छन् ।
संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मोर्चाले काठमाडौ केन्द्रीत आन्दोलन गर्ने तयारी गरिरहेका बेला फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री गच्छदारले संविधान खारेज गरेर देखाउन मोर्चालाई चुनौति दिएका हुन् । फोरम लोकतान्त्रिकले पार्टीको पहिलो महाधिवेशनको तयारीबारे जानकारी दिन शनिबार पार्टी मुख्यालयमा गरेको पत्रकार सम्मेलनमा गच्छदारले व्यवस्थापिका संसद् र मातहतका समितिको बैठकमा भाग लिने अनि आफूले भनेका विषय समेटिएनन् भनेर संविधानको विरोध गर्न नसुहाउने बताए ।
फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री गच्छदारले संविधानको पहिलो संशोधनले मधेशका धेरै माग सम्बोधन गरेको भन्दै प्रदेशको सीमांकन हेरफेरका लागि मोर्चा आन्दोलनको साटो वार्तामा बस्नुपर्ने बताए । उनले आफ्नो पार्टी पनि सात प्रदेशको विपक्षमा रहेको भन्दै प्रदेशको सीमांकनको विषयमा रहेको विवाद् वार्ताबाट टुंग्याउन सकिने बताए । फोरम लोकतान्त्रिकले आफ्नो महाधिवेशन यही वैशाख २० गतेदेखि २२ गतेसम्म विराटनगरमा गर्ने भएको छ ।












