४ वैशाख, काठमाडौं । प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले भनेको नमाने उसको खुट्टा अझै धेरै ठाउँमा चिप्लिने चेतावनी दिएका छन् । संविधान जारी गर्नुपहिले गरेको भद्र सहमति पालन नगर्दा कांग्रेस चिप्लिएको भन्दै ओली अब पनि कांग्रेसले सवक सिकेर भद्र सहमतिको कार्यान्वयन नगरे धेरै ठाउँमा खुट्टा चिप्ल्याइदिने चेतावनी दिएका हुन् । आफ्नै पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले भद्र सहमतिअनुसार कांग्रेस सरकारमा नआए अझै धेरै ठाउँमा चिप्ल्याइदिने बताए ।
अध्यक्ष ओलीले काँग्रेसलगायत प्रमुख दलसँग संविधान जारी पूर्व भएको १६ बुँदे सहमति र त्यही बेला भएको भद्र सहमतिका आधारमा जान आफू अझै तयार रहेको उल्लेख गरे ।
अध्यक्ष ओलीले काँग्रेसलाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको र त्यसमा केही समय लाग्नसक्ने बताउँदै भद्र सहमति पालना नहुँदा कहाँकहाँ कति पाइला चिप्लियो भनी ध्यान दिन कांग्रेसलाई आग्रह गरे ।
ओली सरकार ढल्ने चर्चा चलिरहेका वेला ओलीले कांग्रेसलाई चिप्ल्याइदिने भनी आएको यो अभिव्यक्ति अर्थपूर्ण मानिएको छ ।












