१ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले आगामी शनिबार र सोमबार नामिबियासँग आफ्नै घरेलु मैदानमा दुईवटा खेलमा प्रतिश्पर्धा गर्दैछ। घरेलु मैदानमा हुने यो खेल नेपालका लागि निकै महत्त्वपूर्ण हुने छ । नामिबियासँग खेल्न नेपाली टोलीको तयारी लगभग सकिसकेको छ। नेपाली टोलीलाई प्रक्षिक्षक जगत टमाटा र परामर्श प्रशिक्षकका रुपमा पुबुदु दायानायिकेले प्रशिक्षण दिइरहेका छन्। नेपाली खेलाडी अन्तिम अभ्यासमा व्यस्त छन्।
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले वैशाख ४ र ६ गते नामिबियाविरुद्ध खेल्न लागेको दोस्रो ‘होम म्याच’ हो। आइसिसीको नियमअनुसार विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दुई वर्षमा १४ वटा म्याच खेल्नुपर्ने हुन्छ। नेपालले तीन राष्ट्रसँग घरेलु मैदानमा र तीनवटा खेल बाहिर खेल्नुपर्ने हुन्छ। बाँकी एक खेललाई भने आइसिसीले ‘तटस्थ’ मैदानमा राखेको छ।
यसअघि गत नोभेम्बरमा नेपाली क्रिकेट संघ क्यानको विवादका कारण आइसिसीले पपुवा न्यूगिनीसँग युएईमा खेलाएको थियो जुन खेल नेपालको घरेलु मैदानमा हुने पहिलो खेल थियो।
नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपका ७ राष्ट्रसँग होम र अवेका आधारमा खेल्नेछ। नेपालले अहिले स्कटल्यान्डसँग दुई खेल र पपुवा न्यूगिनीसँग दुईवटा गरी अहिलेसम्म ४ खेल खेलेको छ। ती चारवटै खेलमा नेपाल पराजित भएको छ। आठ राष्ट्रमध्ये नेपाल अंक तालिकामा सबैभन्दा पुछारमा छ। नामिबिया नेपालभन्दा एक स्थान माथि छ र उसको अंक २ मात्रै छ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप डिभिजन २ भन्दा एक स्टेप माथिको प्रतियोगिता हो। डिभिजन २ का शीर्ष चार टोली र यसअघि विश्वकप क्रिकेट छनोटमा शीर्ष चारमा नअटेका चार टोलीले खेल्ने प्रतियोगिता हो।
यो प्रतियोगिता विश्वकप क्रिकेट छनोट खेल्नका लागि महत्वपूर्ण प्रतियोगिता पनि हो। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारमा अट्ने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा प्रतिस्पर्धा गर्न पाउँछन्।
त्यहाँ शीर्ष चारमा अट्न सके एकदिवसीय विश्वकप क्रिकेट खेल्ने अवसर पाउँछन्। माथिल्लो स्तरको एक दिवसीय क्रिकेट खेल्न पनि विश्व क्रिकेट लिग च्याम्पियन महत्वपूर्ण मानिन्छ। यो प्रतियोगितामा शीर्ष चारमा अट्ने टोलीले विश्वकप क्रिकेट छनोट खेल्ने अवसर पाउँछन्। जुन प्रतियोगिता एक दिवसीय क्रिकेट छनोटको पुछारमा परेका चार टोली र विश्व क्रिकेट लिग च्याम्पियनमा शीर्ष चारमा अटेका टोलीबीच विश्वकप क्रिकेट छनोटका लागि प्रतिस्पर्धा हुन्छ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका ८ राष्ट्रमध्ये शीर्ष चारमा पर्ने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनौटका लागि प्रतिस्पर्धा गर्न पाउँछन्। जसमा एक दिवसिय क्रिकेट मान्यताप्राप्त राष्ट्रमध्येका पुछारका चार टिमले पनि सहभागिता जनाउँछन्। उनीहरू पनि विश्वकप क्रिकेटको छनोटका लागि विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट शीर्ष चारमा परेका टोलीसँग प्रतिस्पर्धा गर्छन्। विश्वकप छनौट खेलका लागि छानिन पनि नेपाल शीर्ष चारमा पर्नुपर्ने हुन्छ। नेपाल शीर्ष ४ मा अटाउन सकेन भने विश्व लिग डिभिजन २ खेल्नु पर्नेछ।
शनिबार र सोमबार त्रिवि क्रिकेट मैदानमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियालाई हराउन सके शीर्ष चारमा पर्ने सम्भावना बढी रहन्छ। तर नामिबियासँग दुवै खेलमा वा एक खेलमा पराजित हुँदा पनि नेपाललाई ठूलो क्षति हुन्छ। किनभने नेपालले अझै नेदरल्यान्ड्स, हङकङ र केन्यासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
नेपाल नामिबियासँग पराजित भए पूर्ण रूपमा शीर्ष चारमा पर्ने सम्भावना न्यून हुन्छ। त्यसैले पनि दुवै खेल नेपालका लागि महत्वपूर्ण छ। दुवै खेलमा पराजित भए नेपाललाई डिभिजन २ खेल्नुपर्ने हुन्छ।












