१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि २४ गते चुनाव हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न कांग्रेस केन्द्रीय कार्यसमितिले बनाएको निर्वाचन समितिको सिहदरबारमा आइतबार बसेको बैठकले बहुमतका आधारमा चुनावको मिति तोकेको हो ।
बैठकले २३ गते उम्मेद्वारको मनोनयन दर्ता गर्ने र २४ गते चुनाव गर्ने निर्णय गरेको हो । त्यस्तै यस्तै २६ गते संसदीय दलको कार्यसमिति चयन हुने निर्वाचन समितिका संयोजक रमेश रिजालले जानकारी दिए । त्यस्तै बैठकले निर्वाचन अघि संविधानको व्यवस्था अनुसार विधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । नयाँ संविधानको व्यवस्थाविपरीत संसदीय दल र कार्यसमितिमा विकास क्षेत्रका आधारमा सदस्य निर्वाचित गर्ने व्यवस्था छ । कांग्रेस संसदीय दलको विधानअनुसार दलका नेतासाथै पाँच विकास क्षेत्रबाट एक–एक जनाका दरले पाँच जना र समावेशीतर्फबाट १२ जनासहित दलको कार्यसमितिमा १७ जना छनोट गर्ने व्यवस्था छ । रिजालले बिधान संसोधनका लागी पार्टीमा छलफल गर्ने समेत जानकारी दिए ।
यसैबी निर्वाचन समितिले एकलौटी ढंगले मिति तोकेको भन्दै रामचन्द्र पौडेल पक्षका केहि नेताहरुले बिरोध जनाएका छन् । बैठकपछि केन्द्रीय सदस्य गुरु घिमिरेले पहिला विधान संसोधनपछि मात्रै मिति तोक्नुपर्ने भन्दै आफूहरुले फरक मत राखेको बताए ।
केही दिनअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको नेताको चुनाव गराउन रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।












