८ चैत, काठमाडौं । नेपाल इन्भेष्ट बैंकको लकरमा राखिएको १४ राउण्ड गोलीसहित पक्राउ परेका एकीकृत नेकपा माओवादीका सांसद् ल्हारक्याल लामालाई जिल्ला प्रकाशन कार्यालय काठमाडौले धरौटीमा रिहा गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौले सांसद् लामालाई हातहतियार तथा खरखजाना ऐन अन्र्तगत रहेर अनुसन्धान गरेकामा जिल्ला प्रशासन कार्यालय काठमाडौले सोमबार ६६ हजार ७ सय ५० रुपैयाँ धरौटीमा रिहा गरेको हो । अकुत सम्पति आर्जन गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा रहेका सांसद् लामा गत फागुन ३० गते पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौले धरौटीमा छोडेका सांसद् लामालाई प्रहरीले ठगीको अभियोगमा पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गर्ने सूचना पाएका कारण लामाका समर्थकहरु खादासहित उपस्थित भएका थिए । तर प्रहरीले मकाउबाट ३ सय २० जना कामदारको कोटा ल्याइदिन्छु भन्दै २ करोड १९ लाख रुपैयाँ ठगेको अभियोगमा लामालाई पक्राउ गरेको छ । लामाविरुद्ध अपरच्युनिटी म्यानपावर कम्पनीका संचालक केशबहादुर गुरुङले दुई वर्ष पहिले नै ठगीको आरोप लगाइ उजुरी दर्ता गराएका थिए । उजुरीपछि वैदेशिक रोजगार विभागले पक्राउका लागि पत्राचार गरेपनि प्रहरीले बेवास्ता गर्दै आएको थियो । ठगीको अभियोग लागेका लामालाई जिल्ला प्रशासन कार्यालयले रिहा गरेलगत्तै पुनः पक्राउ गरेपनि प्रहरीले लामालाई उनकै निजी गाडी प्रयोग गर्न दिएको छ ।
लामा जिल्ला प्रशासन कार्यालयबाट बुद्धनगरस्थित वैदेशिक रोजगार विभाग अनि विभागबाट सिंहदरबारस्थित प्रहरीको हिरासत कक्षमा आफ्नै बा ५ च ८१०१ नम्बरको आफ्नै गाडीमा गएका थिए ।












