(नेपाल र चीनबीच सोमबार भएको सम्झौतालाई एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महत्त्वपूर्ण उपलब्धि भनेका छन् । नेपालदेश डटकमसँग कुराकानी गर्दै नेता नेपालले नेपाल र चीनबीचको अबको कुटनीति आर्थिक कुटनीति हुनुपर्ने बताए । नेपाल-चीनबीचको दौत्य सम्बन्ध साठी वर्ष पुगेको अवसरमा भएको यो सम्झौताकै सेरोफेरोमा पत्रकार क्रन्दन चापागाईले नेता नेपालसँग गरेको कुराकानी यस्तो छ )
नेपाल र चीनबीचको दुई पक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन के गर्नुपर्छ ?
दुवै देशबीचको सम्बन्ध प्रगाढ बनाउनका लागि विगतको समयमा देख्यौं कि सांस्कृतिक र सामाजिक क्षेत्रमा अलिक बाक्लो भएको । खासगरी स्रोङ चङ गम्पोले नेपालकी छोरी भृकुटीसँग विवाह गरेपछि त्यो सम्बन्धले नयाँ उचाइ प्राप्त पनि गर्यो । नेपालकै छोरो अरनिकोले चीनमा गएर आफ्नो जुन कालीगढी देखाएर एउटा गुम्बा पनि तयार गरे । नेपाल र चीनबीचको सम्बन्ध कुन उचाइमा थियो भन्ने यो एउटा जीवन्त उदाहरण हो ।
हामी दुई देशको बीचमा कुनै पनि समस्या रहेका छैनन् । समस्याविनाको सम्बन्ध, गुनासोविनाको सम्बन्ध रहेको देश भनेको चीन नै हो । हामी असाध्यै विश्वास गर्दर्छौं चीनलाई । त्यसमा पनि चिनमा कम्युनिस्ट पार्टी सत्तामा रहेको अवस्थामा त हामी नेकपा एमाले पार्टीसँग जोडिएका हामी त अत्यन्तै खुशी हुने नै भयौं । किनभने हाम्रो सम्बन्धको आधार राजनीतिक पनि हुन गयो ।
नेपाल र चीनको यो सम्बन्धलाई अझ गाढा बनाउन अबको कुटनीति आर्थिक कुटनीति हुनुपर्दछ । आर्थिक संम्बन्धलाई जति बढी घनिभूत गर्न सक्यौं र संकट पर्दा जति एकअर्कालाई साथ दिन सक्यौं त्यति नै सम्बन्ध अझै गहिरो बन्दै जाने अवस्था बन्दछ । किनभने यो सम्बन्धको जग आपसी विश्वास, पारस्परिक लाभ र आपसी सम्मानमा आधारित छ । यो सम्बन्धले एउटा नयाँ उचाइ प्राप्त गर्यो जब म प्रधानमन्त्री थिएँ । त्यतिखेर हामीले विकासका लागि रणनीतिक साझेदारका रुपमा एउटा नयाँ नाम पनि दियौं ।
नेपालको आर्थिक विकासलाई बलियो बनाउन र निकै अप्ठेरो परेको अवस्थामा पनि चीनले हामीलाई साथ दिएको छ । चीनले बनाइदिएको कोदारी राजमार्ग (अरनिको राजमार्ग) यसको एउटा जिउँदो उदाहरण हो । नेपालमा नाकाबन्दी भैरहेको अवस्थामा पनि त्यो बाटोले नेपाललाई निकै ठूलो राहत प्रदान गर्यो । अहिले पनि नेपालमा ठूलो विपत्ति आउँदा चीनले धेरै सहयोगहरु गर्यो ।
चीनका वर्तमान राष्ट्रपति सि चिन फिङको नीति पनि छिमेकीलाई उच्चत्तम महत्व दिने खालको आएको छ । राष्ट्रपति फिङले छिमेकी देशहरुसँग आर्थिक लगानी गर्नका लागि छुट्टै बैंक बनाउने सोच पनि उहाँले अगाडि बढाउनुभएको छ । चीनको समृद्धिबाट नेपालले लाभ उठाउनुपर्दछ ।
नेपालले चीनको रेलमार्गबाट र पारवहनमा नेपालले कसरी लाभ लिन सक्छ ?
हामीले देख्यौं कति असम्भव ठानिएको रेल चीनले तिब्बतमा ल्याउन सफल भयो । त्यो रेलमा चढेर म सिगात्सेसम्म पनि गएको छु । अस्ति म कैलाश मानसरोवरको यात्रा गर्न जाँदा त्यो रेल चढेँ । त्यो रेल हाम्रो रसुवागढीको सिमासम्म जोड्ने सोच चीनको छ । त्यहाँबाट लुम्बिनी र पोखरा सजिलै जोड्न सकिन्छ र त्यसले नेपाल र चीन दुवैको व्यापार फस्टाउन सक्दछ । यसअर्थमा नेपाल चीनबीचको सम्बन्धमा यो रेलमार्ग अर्को कोशेढुङ्गा (ल्याण्डमार्क) हुने छ ।
नेपालले चीनबाट तुरुन्तै लिन सक्ने प्रमुख तीन फाइदाहरु केके हुन सक्छन् ?
नेपालले तुरुन्तै लिनसक्ने पहिलो फाइदा आर्थिक नै हो । कुटनीतिक क्षेत्रमा हामीलाई आवश्यक पर्दाको साथ सहयोग दोस्रो हो । तेस्रो नेपालको स्वाभिमानमाथि कुनै आँच आउन लाग्दा चीनको सहयोग प्राप्त गर्ने । तर ठूलोअर्थतन्त्र भएको चीनबाट पनि हामीले लाभ लिन नसक्नुको प्रमुख कारण हामै्र राजनीतिक अस्थिरता रहँदै आएको छ । हामीले पहिले आन्तरिक बाधा अवरोध हटाउनु पर्छ । र अबको सम्बन्धलाई नेपालमा चीनको लगानी भित्र्याउने सम्बन्धका रुपमा अगाडि बढाउनुपर्छ ।












