२ चैत, काठमाडौं । नेपालको संविधान जारी गर्नै नदिने गरी आदेश दिन नेपाल आएका भारतीय विदेश सचिव फेरि नेपाल आएर मधेसी दलहरुलाई भड्काउने काम गरेका छन् । मंगलबार मधेसी मोर्चाका नेताहरुलाई भारतीय विदेश सचिव एस जयशंकरले भेटेर मन्त्र सुनाएलगत्तै मधेसी मोर्चाले मंगलबार अपराह्न फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
पहिले चार दल मात्रै रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा भारतकै योजनामा सात दल समावेश गरिएको थियो । तिनै सात मधेसी राजनीतिक दलले नाम मात्रका अन्य दलको समेत नाम समावेश गर्दै १५ दलीय संघीय गठबन्धनको नाममा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।

कार्यक्रम अनुसार चैत ६ गते गठबन्धनले काठमाडौंमा कालोझण्डासहितको विरोध प्रदर्शन गर्ने भएको छ ।
संघीय गठबन्धनको मंगलबार अपराह्न संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले संविधानको विरोधमा भइरहेका आन्दोलनमा उठाइएका माग पूरा गर्नका लागि दवाब दिन भन्दै कालो झण्डासहितको विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले सीमांकन हेरफेर गरिनुपर्ने लगायतका माग पूरा गर्न सरकारले बेवास्ता गरेका कारण शान्तिवाटिकादेखि माइतीघर मण्डलासम्म कालो झण्डासहितको प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिए ।
संघीय गठबन्धनले माग पूरा नभए चैतको अन्तिमदेखि संयुक्त जनआन्दोलन गर्ने निर्णय पनि गरेको छ । नेता श्रेष्ठले संयुक्त जनआन्दोलन ०६२/०६३ सालको आन्दोलनकै स्वरुप र शैलीमा गरिने बताए ।











