१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीऊ पनि नरहने गरी कालोबजारी निमिट्यान्न पार्ने दावी गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार विहान आफ्नै निवासमा उपस्थित भएका अनेरास्ववियुका विद्यार्थी नेताहरुसँग कालोबजारी बढ्यो भनेर चिन्ता नलिन आग्रह गर्दै सरकारले बीउ पनि नरहने गरी कालोबजारी निमिट्यान्न पार्ने आश्वासन दिए । कालोबजारी निमिट्यान्न पार्नका लागि गर्नुपर्ने सबै काम सरकारले गर्ने ओलीले बताए
अनेरास्ववियुले भने सरकारी स्वामित्वको नेपाल आयल निगम नै कालोबजारीमा संलग्न भएको आरोप लगाएको छ । अनेरास्ववियुले कालोसूचीमा रहेको विराट पेट्रोलियमलाई निर्धारित मूल्यभन्दा ३१ रुपैयाँ महङ्गोमा पेट्रोल बेच्न दिएर निगमको व्यवस्थापनले कालोबजारी गरेको भन्दै कालोकजारीमा संलग्नमाथि कारवाही गर्न तथा विराट पेट्रोलियमसँगको सम्झौता खारेज गर्न माग गरेको छ । अनेरास्ववियुले अन्र्तराष्ट्रिय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ ।
अनेरास्ववियुले एसएलसी परीक्षाका बेला लोडसेडिङ्ग नगर्ने व्यवस्था मिलाउन तथा भारत र चीन बीच गत जेठ १ गते लिपुलेकलाई व्यापारिक नाकाको रुपमा विकास गर्ने गरी भएको सम्झौताका बारेमा चीन भ्रमणका बेला आवाज उठाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ ।












