२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अबको दुई वर्षसम्म वर्तमान सरकारलाई कसैले पनि परिवर्तन गर्न नसक्ने दावी गरेका छन् । वुधबार झापा जिल्ला परिषदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन आफूहरुको एजेण्डा नभएको भन्दै सरकार परिवर्तनका विषयमा कुनै चिन्ता नलिन आग्रह गरे ।
सरकार परिवर्तन हाम्रो एजेण्डा होइन प्रधानमन्त्री ओलीले भने अबको दुई वर्षसम्म यो सरकारलाई कसैले पनि परिवर्तन गराउन सक्दैन । सरकारले विकासभन्दा अरु केही नसोचेको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले अबको दुई वर्ष भित्र मुलुकमा विकासको मूल फुटाउने दाबी समेत गरे ।
संविधान जारी गरेपछि धेरै चुनौतिको सामना गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधानप्रति देखिएको भ्रम चिरिँदै गएकाले सरकारको सम्पूर्ण ध्यान विकास निर्माणमा केन्द्रित गरेको बताए ।












