२४ फागुन, काठमाडौं । हुन त कांग्रेसको नयाँ नेतृत्वको निर्वाचनअघि नै यसपल्ट शेरबहादुर देउवा सभापतिका प्रवल दावेदारका रुपमा देखिएका थिए । पहिलो निर्वाचनपछिट देउवाको त्यो सम्भावना लगभग सुनिश्चित देखिएको आँकलन गरिएको छ । तर राजनीति सिधारेखामा हिंड्दैन । त्यसैले त भनिन्छ राजनीतिमा जे पनि हुनसक्छ । त्यस्तै सम्भावनाको आशंका यतिवेला गरिएको छ । राजनीतिमा वार्गेनिङको खेल हुन समय लाग्दैन ।
अघिल्लो महाधिवेशनमा नीति र निष्ठाको कुरा गर्दै तेस्रो प्यानल बनाएर चुनाव लडेका नरहरि आचार्य यो महाधिवेशनमा अस्पतालमा रहेका वेला कोइराला परिवारको निगाहमा पार्टीमा पद ओगट्दै आएका कृष्ण सिटौला किन विपीपुत्र सशांक र गणेशमानपुत्र प्रकाशमानको विपरीत कित्तामा उभियो सोचनीय छ । सिटौलालाई एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवार त भने तर भित्री पक्ष भने अर्कै छ । निरन्तर भारतको विरोधमा रहेका प्रचण्डले सिटौलालाई आफ्नो उम्मेदवार भने पनि सिटौला र गगन थापा भारतको खुफिया एजेन्सीले अघि सारेका उम्मेदवार हुन् भन्नेमा कांग्रेस कार्यकर्ता नै निश्चित छन् र थिए पनि ।
पहिलो चरणको निर्वाचनमा कार्यकर्ताले आँकलन गरेभन्दा बढी भोट सिटौलाले ल्याए । यतिवेला सिटौलाले रामचन्द्र पौडेललाई सहयोग गर्ने अवस्था लगभग बन्द भएको छ । किनभने उपसभापतिमा प्रकाशमानलाई नियुक्त गर्ने पौडेलको निर्णय छ । अब सिटौलालाई भित्री रुपमा पौडेलले प्रधानमन्त्री बनाउने आश्वासन दिएका हुनसक्छन् जसरी देउवाले विमलेन्द्र निधिलाई दिएका छन् । तर त्यतिले मात्रै पनि पौडेल सुरक्षित छैनन् । पैसाको खोलो बगेको कांग्रेस महाधिवेशनमा अब देउवालाई भोट दिएर चाकडी गर्नेको संख्या झनै बढ्ने स्पष्ट छ । भ्रष्ट्राचारको सजायँ पाएका खुमबहादुरको पछाडि रहेको भोटलाई तान्ने प्रयास पनि पौडेलले नगरेका होइनन् । तर छोटो समयमा यो असम्भव प्रायः देखिएको छ ।
यस्तो जालझेल र प्रपञ्चको राजनीतिमा कांग्रेसमा अबको नेतृत्व लगभग देउवाको निश्चित देखिएको छ । तर निश्चित भए पनि भोटको राजनीति हो कता पल्टावाजी हुने हो र भित्री खेल के भैरहेको छ भन्ने कुरा सोमबार मध्यरातमा आउने परिणाम पर्खनुको विकल्प छैन ।












