२३ फागुन, काठमाडौं । हिन्दूहरुको पवित्र पर्व महाशिवरात्रि सोमबार परेको छ । भगवान शिवको प्रिय वार सोमबारकै दिन महाशिवरात्रि पर्नुले यसलाई अझै विशेष महत्त्वका रुपमा धर्मावलम्बीहरुले लिएका छन् ।
महाशिवरात्रि पर्वमा काठमाडौंस्थित पशुपतिनाथको दर्शन गर्नाले ठूलो पुण्य प्राप्त हुने र शिवलोकमा वास हुने विश्वास गरिन्छ । तर यस्तो पवित्र तीर्थ पशुपति क्षेत्रमा शिवको प्रसाद भन्दै गाँजा, भाङ र चरेशजस्ता लागू पदार्थको विक्री हुने गरेको पाइन्छ ।
आइतबार दिउँसो नेपालदेशका प्रतिनिधि पशुपति क्षेत्रमा पुग्दा श्लेषमान्तक जंगलतर्फ जाने सिंढीमा बसेर केही व्यक्तिहरु खुल्लमखुल्ला रुपमा गाँजा र भाङ मिसाएका चकलेट बेच्दै थिए । उनको तस्वीर लिँदै गर्दा यी व्यक्तिले आपत्ति पनि जनाए ।
चरेशको चकलेट रहेछ भन्दै केही व्यक्ति किनेर खाँदै पनि थिए । त्यतिकैमा सादा पोशाकका प्रहरी आएर उनलाई पक्राउ गरेर लगे । यसरी पशुपतिमा गाँजा लगायतका लागू पदार्थ विक्री गर्नेलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्ने गरेका छन् ।
महाशिवरात्रिको पर्वमा पशुपति क्षेत्रमा पुग्ने मानिसहरुसँग विभिन्न वाहनामा माग्नेको कमी छैन । जति बढी श्रृंगार गर्यो त्यति नामी बाबामा कहलिने धुन यहाँ आएका बाबाजीहरुमा देखिन्छ । यहाँ आएका बाबाहरु ऐन हेरीहेरी आफ्नो श्रृंगार गरेका देखिए ।
बाबाहरु तस्वीर खिच्नेसँग दक्षिणा माग्न छाड्दैनन् । खरानी घसेर पोज दिएर बस्ने र तस्वीर खिच्न आकर्षित गर्नु बाबाजीहरुको मुख्य काम भएजस्तै देखिन्थ्यो ।
आइतबार पशुपति आर्यघाटमा चितामा जलिरहेका मानिसको संख्या शून्य थियो । कारण विद्युतीय शवदाह गृहका कारण अब चितामा दाउरामा मानिसको शव जलाउन कम भैसकेको यसले बुझिन्थ्यो । विदेशीहरु भने यहाँ तस्वीर खिच्नमै व्यस्त देखिन्थे ।

महाशिवरात्रिका अवसरमा माग्नेहरुको व्यवसाय मात्र फस्टाएको छैन, घुमीघुमी पानी र कोक बेच्नेको व्यवसाय पनि राम्रै चम्केको छ । श्लेषमान्तक जंगलको मृगस्थलीको तल्लो भागमा सानो पसल गरेर बसेका व्यापारीले भने भोलि त एक ट्रक कोकले पनि पुग्दैन । ती पसलेले केही युवाहरुलाई कोक बोकाएर डुल्दै विक्री गर्न लगाएका रहेछन् । कोक खानेमा पुशपति पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु देखिन्थे ।
















