२२ फागुन, काठमाडौं । पूर्वयुवराज पारस र पूर्व युवराज्ञी हिमानी एकसाथ सार्वजनिक समारोहमा देखापरेका छन् । थाइल्याण्डबाट पारस फर्केको धेरै समय वितिसक्दा उनी र पत्नी हिमानीबीच सुमधुर सम्बन्ध स्थापित हुन सकेको छैन । उनीहरु छुट्टाछुट्टै रुपमा बस्दै आएका छन् । तर हालै भने पारस र हिमानी एउटा वैवाहिक समारोहमा एकसाथ देखिए। एकैसाथ तस्वीर पनि खिचे तर उनीहरु आपसमा जोडिएर उभिएनन् । एउटै फ्रेममा तस्वीर खिचे पनि हिमानी र पारसको दूरि निकै थियो र बीचमा थिए अन्य व्यक्ति । पारस र हिमानीपुत्र हृदयेन्द्र समेत आमा हिमानीका साथमा देखिन्छन् । यो तस्वीरले पारस र हिमानीबीच अझै पनि सम्बन्ध सुमधुर बन्न नसकेको प्रष्ट पारेको छ ।
पारसकी फुपू शोभा शाहीका छोरा हिमवानको विवाह समारोहमा पारस र हिमानी एकसाथ देखिएका हुन्। विवाहमा दुलाहा र दुलहीसँगै फोटो खिच्ने क्रममा पारस र हिमानीले छोराछोरी साथमा राखेर फोटो खिचेका थिए। २०७१ को १९ चैतमा थाइल्याण्डकी प्रेमिकालाई छाडेर पारस नेपाल फर्किए पनि उनी र हिमानीबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन। पारसले आफ्ना सन्तानसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरे पनि उनले पत्नीसँग बसेका तस्वीर भने सार्वजनिक गरेका छैनन् ।
थाइल्याण्डमा रहँदा कन्निका चाइयासार्नसँग प्रेम सम्बन्धमा भुलेपछि हिमानी र पारसको सम्बन्धमा उतार चढाव देखा परेको थियो। युवराज भएपछि एभरेस्ट होटलमा आफ्नी श्रीमती हिमानीलाई तर्साउन हवाइ फायर गरेको भन्दै विगतमा नै पारस विवादमा तानिएका थिए। हिमानीसँगको झगडाका कारण उनले गोली चलाएको भनिए पनि सो घटना गुपचुप नै राखिएको थियो। २०६८ जेठमा पारसले बहिनीज्वाइँ राजबहादुर सिंहलाई कुटेको खबर सार्वजनिक भएको थियो। बहिनीलाई दुःख दिएको भन्दै उनले याक एन्ड यतीको रोयल क्यासिनोमा पुगेर सिंहलाई कुटेका थिए। पारस थाइल्यान्डमा रहँदा पनि उनी पटक पटक लागू पदार्थ राखेको अभियोगमा समातिए, जेलसमेत परेका थिए । पारस नेपाल फर्किएपछि उनकी थाई प्रेमिकाले हिमानीप्रति रिस पोख्दै स्टाटसहरु पोष्ट गर्ने गरेकी छिन् ।












