२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन नहुने दावी गरेका छन् ।
महाधिवेशनपछि सरकार परिवर्तन हुने सत्तारुढ दलकै नेताहरुले बताइरहेका बेला प्रधानमन्त्रीको धारणा बाहिर आएको हो । ‘नेका महाधिवेशनपछि सरकार परिवर्तन होइन विस्तार हुन्छ,’ भन्ने सन्देश प्रधानमन्त्रीले शुक्रबार ट्वीट गरेका छन् । कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु नहुँदै प्रधानमन्त्रीले सार्वजनिक गरेको यो धारणालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सत्तारुढ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सत्ता सहयात्री नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले महाधिवेशनपछि सरकार परिवर्तन हुने बताउँदै आएका छन् । कांग्रेसले अख्तियार गर्ने नीति चासोसाथ हेरेको र कृष्ण सिटौला आफूहरुको उम्मेदवार रहेको अभिव्यक्ति प्रचण्डले दिइरहेका छन् । महाधिवेशनपछिको नेतृत्वकै कारण सरकार परिवर्त हुने भन्दै प्रचण्डले दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्री अत्तालिएर आफ्नै नेतृत्वमा सरकार विस्तार हुने अभिव्यक्ति दिएका हुन् ।












