२१ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डे र उद्योग परिसघका उपाध्यक्ष हरिभक्त शर्माका औषधि उद्योगमा प्रहरीले सिल गरेको छ । भ्रष्ट्राचार मुद्दामा जेल गएका प्रदीपजंग पाण्डे र औषधि उत्पादनमा लापारवाही गर्दै आएका हरिभक्त शर्माका उद्योग र गोदाममा छापा मारेर प्रहरीले व्यवस्थापनको जिम्मेवारी पाएका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं परिसरबाट खटिएको विशेष टोलीले महासंघ पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको लोमस प्राइभेट लिमिटेड र हरीभक्त शर्माको देउराली जनता नामको औषधि कम्पनीमा छापा मारेर त्यहाँ रहेका ओषधि सिलबन्दी गरेको हो ।
प्रहरीको टोलीले प्रदिपजंग पाण्डेका दुई छोराहरु प्रवलजंग पाण्डे र प्रज्वलजंग पाण्डेलाई नियन्त्रणमा लिएको छ । त्यस्तै देउराली जनता महाप्रबन्धक निलराज आचार्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदिपजंग पाण्डेको उत्तरढोका स्थित लुमस प्रालिको गोदाम तथा कार्यलयमा तथा देउराली जनता फर्मास्युटिकल्स उद्योग हात्तिसार स्थित गोदाम तथा कार्यलयमा छापा मार्दा तोकिएभन्दा उच्च मूल्यमा औषधि बिक्री गरेको पाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।
सरकारले गत साउन १८ गते राजपत्रमा सुचना प्रकाशन गरी अत्यावश्यक औषधिको मूल्य तोकेको थियो । उक्त मुल्य माघ महिना सम्म लागु गर्न भनिए पनि देउराली जनता र लोमसले अटेर गरेर हरेक औषधिमा अधिक मूल्य तोकेको भेटिएको छ ।
एसएसपी थापाले भने,(‘जनताको जीवनसँग सरोकार राख्ने औषधि जस्तो वस्तुमा सरकारले तोकेको मूल्य भन्दा बढी लिएका छन त्यसैले काठमाडौंका सिडियो र हामीले संयुक्त रुपमा छापा मारेका हौं ।’
महिनौं सम्म सरकारले तोकेको भन्दा बढी मुल्य राखेर औषधि विक्रि गर्नेहरुलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइने एसएसपी विक्रम सिंह थापाले बताए ।












