१९ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पाले पनि कांग्रेस केन्द्रीय कार्य समिति सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । विपी कोइरालाको नीति र नेपाली कांग्रेसको सिद्धान्त कार्यान्वयन गर्ने प्रखर र जुझारु युवाहरु कांग्रेसलाई आवश्यक भएको भन्दै शेर्पाले उम्मेदवारी घोषणा गरेका हुन् ।
विगतको केन्द्रीय कार्यसमितिमा रहेका सदस्यहरुले पार्टीलाई सामूहिक रुपमा चलाउने विषयमा नेतृत्वलाई दवाव नदिएको बताउँदै शेर्पाले कांग्रेसमा सामूहिक नेतृत्वको पहल गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । कांग्रेसको सिद्धान्त ठीक भए पनि विगतमा नेतृत्वले सबै विभाग र सदस्यहरुलाई जिम्मेवारीहरु नदिएको उनले औंल्याए । उनले भने नेतृत्वले एकल निर्णय गर्दा गल्ती पनि हुन सक्छन् । तर सामूहिक निर्णय नगर्ने हो भने केन्द्रीय कार्य समिति किन चाहियो ? पदाधिकारीहरु किन चाहिए ।
आजको एक्काइसौं शताब्दीमा सभापतिको मनोमानीले मात्रै पार्टी नचल्ने भन्दै शेर्पाले सामूहिक नेतृत्वको लागि पार्टीमा दवाव दिने आफ्नो प्रमुख एजेण्डा रहेको उनले बताए । देशभर खेलकुदको विकास गर्ने र फुटबलमा परिमाणमुखी कार्य गरेजस्तै आफूले पार्टीमा पनि परिणाममुखी कार्य गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
प्रकाशमान सिंह पक्षधर मानिने कर्माछिरिङ रामचन्द्र पौडेल सभापति र सशांक कोइराला महामन्त्री पदमा उम्मेदवार बन्ने संस्थापन पक्षबाट केन्द्रीय सदस्य उम्मेदवार बन्न लागेका हुन् ।












