१८ फागुन, काठमाडौं । विहीबारबाट सुरु हुने कांग्रेसको १३ औं महाधिवेशनमा संस्थापन पक्ष भनिने समूहमा पदाधिकारीका आकांक्षी धेरै जना देखिएजस्तै कम प्राथमिकतामा रहेको कोषाध्यक्ष पदमा समेत धेरै जना आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट सितादेवी यादव, पदमनारायण चौधरी र फरमुल्लाह मन्सुर कोषाध्यक्षका आकांक्षी देखिएका छन् । १२ औं महाधिवेशनमा सबै पदाधिकारी संस्थापनबाट विजयी भएको अवस्थामा समेत कोषाध्यक्षमा हार व्यहोरेका पदमनारायण चौधरी आकांक्षी भए पनि उनको सम्भावना कम देखिएको छ । फरमुल्लाह मन्सुर मुस्लिम समुदायबाट र सितादेवी यादव मधेसी तथा महिलाका तर्फबाट उम्मेदवार बन्ने भएकोले दुई व्यक्तिबीच कसलाई आधिकारिक उम्मेदवार बनाउने भन्ने बहस संस्थापनभित्र भैरहेको छ ।
सिराहा कांग्रेसको तीन कार्यकालसम्म सभापति बनेकी, माओवादी जनयुद्धकालमा पति हत्याको पीडा भोगेकी र मधेसी दलहरुले घर समेत जलाइदिएका कारण सितादेवीको सम्भावना बलियो भएको विश्वस्त स्रोतले जनाएको छ । कांग्रेसको संस्थापन पक्षभित्र बलियो पकड राख्ने व्यक्ति समेत भएकाले सितादेवीलाई चित्रलेखा यादवको विकल्पमा कोषाध्यक्ष बनाउनुपर्ने बहस संस्थापन पक्षभित्र भैरहेको छ ।












