१७ फागुन, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यवाहक अध्यक्षमा डोलनाथ खनाल चयन भएका छन् । आइतबार बसेको महासंघको केन्द्रीय समितिले खनाललाई कार्यवाहक अध्यक्ष पदमा चयन गरेको हो । महासंघका अध्यक्ष दिनेश भण्डारीको निधन भएपछि विधानअनुसार वरिष्ठ उपाध्यक्ष खनाललाई कार्यवाहक अध्यक्षमा चयन गरिएको हो । खनाल २०७१ मा सम्पन्न महाधिवेशनमा उपाध्यक्षका उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याएर वरिष्ठ उपाध्यक्ष पदमा चयन भएका थिए । महासंघको विधानअनुसार निर्वाचनमा बढी मत ल्याउने वरिष्ठ उपाध्यक्ष बन्ने र वरिष्ठताकै आधारमा कार्यवाहक अध्यक्ष चुन्ने प्रावधान रहेको छ ।
कार्यवाहक उपाध्यक्ष चयन भएलगत्तै नेपालदेश डटकमलाई प्रतिक्रिया दिंदै खनालले स्वर्गीय अध्यक्ष दिनेश भण्डारीका योजनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । यातायात व्यवसायी र यात्रुहरुको समस्यामा गम्भीर बन्दै समस्या समाधानका लागि आफूले कार्य गर्ने समेत उनले बताए ।
कार्यवाहक अध्यक्ष खनाल दुई दशकभन्दा लामो समयदेखि सार्वजनिक यातायात सेवामा सक्रिय व्यक्ति हुन् । २०२६ सालमा स्याङ्जाको आरुचौरमा जन्मिएका उनले २०५० देखि यातायात व्यवसायको आरम्भ गरेका हुन् । २०५४ सालमा नेपालगंजको वागेश्वरी यातायात समितिको सचिवमा चयन भएपछि उनी निरन्तर व्यवसायीहरुको संगठनमा आबद्ध रहँदै आएका छन् । यातायात व्यवसायीहरुबीच निरन्तर एकताका पहल गर्दै आएका उनले वागेश्वरी समिति र भेरी अञ्चल यातायात समितिबीच एकता गरी २०५४ मा त्यसको अध्यक्ष बनेका थिए । पछि यातायात व्यवसायीका दुई महासंघ हुँदा समेत एकता गर्न उनले सक्रिय भूमिका खेलेका थिए ।
२०६३ सालमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिवमा निर्वाचित भएका खनाल २०६५ देखि २०७१ सम्मको दुई कार्यकालमा महासंघको महासचिव बनेका थिए । २०७१ मा चितवनमा भएका महासंघको महाधिवेशनबाट उनी वरिष्ठ उपाध्यक्षमा चयन भएका थिए ।
यातायात क्षेत्रलाई व्यवस्थित गर्न छुट्टै यातायात मन्त्रालय गठनको माग गर्दै आएका खनाल सार्वजनिक यातायातलाई मर्यादित बनाउन यातायात मजदुरहरुलाई निरन्तर तालिमको व्यवस्था गर्नुपर्ने धारणा खनालले व्यक्त गरेका छन् ।












