१५ फागुन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशका जिल्लामा केन्द्रित आन्दोलनलाई राष्ट्रिय स्वरुप दिने निर्णय गरेको छ ।
मोर्चाका प्रमुख नेताहरुको शनिबार विहान संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको दुई घण्टा लामो बैठकले मधेश आन्दोलनका क्रममा उठाइएका माग सम्बोधनका लागि सरकार गम्भीर नभएको निष्कर्ष निकाली आन्दोलनलाई अब राष्ट्रिय स्वरुप दिने निर्णय गरेको हो ।
बैठकमा बोलेका अधिकांश नेताले तराईका जिल्लामा मात्र आन्दोलनलाई केन्द्रीत गर्दा मोर्चामाथि तराईलाई अलग्याएर मुलुकलाई विखण्डन गर्न खोजेको आरोप लागेकाले आन्दोलनको स्वरुप परिवर्तन गर्न जरुरी रहेको बताएका थिए । आन्दोलनको समीक्षा गर्ने क्रममा बैठकले २५ भन्दा बढी पटक भएका वार्तामा कुनै सहमति नहुनले सरकारसँग माग सम्बोधन गर्ने सामथ्र्य र तत्परता नै नरहेको देखिएको भन्दै अब हिमाल, पहाड र तराईलाई जोड्ने गरी आन्दोलनको तयारी गर्ने निर्णय गरेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पूर्ण रुपमा असफल भएको निष्कर्ष समेत निकालेको छ । भ्रमणको अन्तिममा दुई देशका तर्फबाट संयुक्त रुपमा विज्ञप्ति नआउनु, भारतको भुजमा नेपाली झण्डाको गलत प्रयोग गरिएको विषयलाई बेवास्ता गरिनु लगायतका कारण कुटनीतिक रुपमा प्रधानमन्त्री ओलीको भ्रमण दुई देशको सम्बन्ध सुधारका मामिलामा असफल भएको दावी मोर्चाले गरेको छ ।












