११ फागुन, सिरहा । मधेस आन्दोलनका कारण विगत ६ महिनादेखि बन्द रहेको विद्युतको महसुल वुझाउने काउण्टर गत माघ २८ देखि खुलेपछि करोडौं महसुल असुली भएको छ । सिरहामा ८ दिनमा मात्रै कुल १४ करोड ७६ लाख ५२ हजार राजश्व संकलन भएको लहान शाखा प्रमुख माधव प्रसाद यादवले जानकारी दिए ।
सो रकम विद्युत कार्यालय लहान गोलबजार सुखिपुर र मिर्चैया सेवा केन्द्रवाट संकलन गरिएको छ । बन्द खुलेको महसुल बुझाउने काउण्टरहरुमा हजारौंको संख्यामा उपभोक्ताहरु आउन थालेपछि विद्युत कार्यालयले टोकन सुविधायुक्त ३ काउण्टर, दुई विना टोकनको महिला काउण्टर र एक विविध काउण्टर गरी ६ वटा काउण्टर संचालन गरेको छ ।
तर पनि उपभोक्ताको चापका कारण भने महसुल बुझाउन हम्मेहम्मे हुने गरेको छ । महसुल बुझाउन विहान ५ बजेदेखि नै भिड लाग्ने गरेपछि विद्युतले ६ बजेदेखि टोकन वितरण गरी विहान ७ बजेदेखि रातीको ७ बजेसम्म उपभोक्ताले महसुल बुझाएको विद्युत प्राधिकरण लहान शाखा प्रमुख माधव प्रसाद यादवले बताए ।
यता कतिपय उपभोक्ताहरुले भिडका कारण महसुल बुझाउन नपाएको बताउँछन् ।
विद्युत प्राधिकरणले फागुनसम्म ३ प्रतिशत छुटको समय सिमा बढाउनुपर्ने उपभोक्ताहरुको माग छ । भिड धेरै भएका कारण दैनिक सयौं उपभोक्ताले महसुल बुझाउन नसकेर घर फर्किनु परिरहेकोले समय सिमा बढाउनुपर्ने उपभोक्ताहरुले उनीहरुले बताएका छन् ।
प्राधिकरणले माघ २८ गतेदेखि ७ दिनसम्म बन्द अवधीको विद्युत महसुलमा तीन प्रतिशत छुट गर्ने निर्णय तथा ८ औं दिनदेखि २२ दिनसम्म जरिवाना नलिने व्यवस्था मिलाएको छ ।












