७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने राजकीय भ्रमणका लागि आज भारततर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली त्रिभवुन विमानस्थलबाट अपराह्न ३ बजे भारतका लागि प्रस्थान गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले १२ गतेसम्म भारतको भ्रमणमा हुनेछन् ।
उनको भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका, उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी छन्
यसैगरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, व्यवस्थापिका–संसद्का विभिन्न पार्टीका सदस्य, मुख्य सचिव डाक्टर सोमलाल सुवेदी र सम्बन्धित सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा सामेल छन् ।
नेपालको इतिहासमै छिमेकी भारतको राजकीय भ्रमण गर्ने प्रधानमन्त्री ओली दोस्रो कार्यकारी प्रमुख हुन् । यसअघि विक्रम संवत २०४६ को राजनीतिक परिवर्तनपछि २०४७ मा गठित सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजकीय भ्रमणको सम्मान दिइएको थियो भने अब लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिएको नयाँ संविधान जारीपछिको नयाँ सरकारका प्रधानमन्त्री ओलीलाई त्यही प्रकारको सम्मान भारतले दिएका हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रवण मुखर्जीको आतिथ्यतामा राष्ट्रपति भवनमा रहनेछन् ।
नेपालमा भारतविरोधी भावना जागेको र त्यसलाई मत्थर पार्न भारतले प्रधानमन्त्री ओलीलाई राजकीय सम्मान दिँदै जलविद्युत समेत दिने निर्णय गरेको हो ।












