शिक्षामन्त्री गिरीराजमणि पोखरेलले भागवण्डाको आधारमा नियुक्ति दिने प्रणालीको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताएका छन् ।
शिक्षा पत्रकार समूहको १६ औं साधरणसभा तथा वार्षिकोत्सव समारोहलाई राजधानीमा बुधबार सम्बोधन गर्दै मन्त्री पोखरेलले भागवण्डाको राजनिति अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् । उनले अन्य क्षेत्रमा जस्तै शिक्षामा पनि राजनितिकरण भएका कारण प्रभावकारी रुपमा शिक्षा प्रणालीको विकास हुन नसकेको बताए । पढाउन छाडेर शिक्षकहरु नै राजनीतिमा लाग्नु दुःखद भएको उनको भनाइ थियो । उनले शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्य गदै आमुल परिर्वतनका लागि शिक्षा नितिमा नै आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
शिक्षा ऐन आठौं संशोधन विधेयक अहिले व्यवस्थापिका संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिमा छ । संसद्ले खुला विश्वविद्यालय, मनमोहन प्रतिष्ठान र शिक्षा ऐन संशोधन सम्बन्धी तीनवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएकामा तीन मध्ये कुन विधेयकलाई अगाडि बढाउने भन्ने बारेमा समितिले निर्णय लिन सकेको छैन । कार्यक्रममा समितिका सभापति रञ्जु कुमारी झाले नेपाली कांग्रेसको महाधिवेशनका कारण विधेयकलाई अघि बढाउन नसकिएको दाबी गरिन् ।
संसद्ले शिक्षा ऐन आठौं संशोधन विधेयक समितिमा पठाएको एक महिना भइसकेको छ । निजी विद्यालय संचालक, उच्चमावि संचालक र उच्चमाध्यमिक शिक्षा परिषद् विधेयकको विरोधमा छन् ।












