४ फागुन काठमाडौं । अघोषित नाकाबन्दी गरेर नेपालीलाई पीडा दिएको भारतले आफ्नो छवि सुधार्न नेपाललाई ८० मेगावाट जलविद्युत विक्री गर्ने भएको छ । नेपालमा भारतविरोधी भावन तीव्र भएको भन्दै जलविद्युत दिएर त्यो भावनालाई कम गर्ने प्रयासस्वरुप भारतले नेपालसँग यस्तो सम्झौता गरेको हो ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा उपहारस्वरुप यो विद्युत दिने भनिए पनि वुधबारबाट नै नेपालमा विद्युत आउने छ । भारतबाट विद्युत आयात भएपछि हालको लोडसेडिङ दुई घण्टाले घट्ने विद्युत प्राधिकरणले जनाएको छ ।
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गर्ने ८० मेगावाट भारतीय बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्ने भएको छ । विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी एनभीभीएनबीच बिजुली खरिद बिक्री सम्झौता भैसकेको छ । सम्झौताअनुसार बुधबारदेखि भारतबाट ८० मेगावाट विद्युत् ल्याइने छ ।
भारत सरकारले प्रधानमन्त्री केपी ओलीको नयाँदिल्ली भ्रमणका अवसरमा शुक्रबारदेखि औपचारिक रूपमा नेपाललाई बिजुली निर्यात गरेको घोषणा गर्ने छ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण गरेका नेपाल र भारततर्फका दुई कम्पनीलाई प्रतियुनिट १ रुपैयाँ ५३ पैसा हिलिङ चार्ज (प्रसारण शुल्क) तिर्नुेपर्ने छ । नेपालतर्फ प्रसारण लाइन कम्पनी र भारततर्फ भारतीय प्रसारण लाइन कम्पनीले अन्तरदेशीय प्रसारण लाइन निर्माण गरेका हुन् ।
भारतबाट उक्त प्रसारण लाइनबाट बिजुली आयात गर्दा प्राधिकरणले ती कम्पनीलाई १ रुपैयाँ ५३ पैसा हिलिङ चार्ज तिर्नुपरेको हो । हिलिङ चार्ज जोडेपछि उक्त प्रसारण लाइनबाट आयात गरेको बिजुलीको मूल्य ७ रुपैयाँ ३ पैसा पर्ने छ ।











