४ फागुन, काठमाडौं । काठमाडौंका दक्षिणपश्चिममा रहेको चन्दगिरि पहाडमा संचालन हुन लागेको केबल कार नयाँ वर्षमा संचालन हुने भएको छ । काठमाडौं फन पार्क लिमिटेडले संचालन गर्न लागेको मेगा प्रोजेक्टका रुपमा रहेको केबल कार आगामी वैशाख १ गतेबाट संचालन गर्ने तयारी गरिएको हो । थानकोटदेखि चन्द्रागिरि पहाडको टुप्पोमा पुग्ने गरी केबुल कार संचालन हुने छ । केबुल कार आयोजना निर्माण सुरु भएको भने दुई वर्ष भएको छ ।
केबल कारको निर्माणसँगै चन्द्रगिरि डाँडामा भालेश्वर मन्दिर निर्माण समेत तीव्र गतिमा भैरहेको छ । परम्परागत रुपमा स्थानीयहरुले ढुङ्गा राखेर महादेवको पूजा गर्दै आएकामा केवलकार आयोजनाले आकर्षक मन्दिर निर्माण गरेको हो । मन्दिर निर्माण भैरहेको डाँडाबाट सगरमाथालगायत प्रसिद्ध हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ ।
मन्दिर निर्माणमा मात्रै ८ करोड रुपैयाँ खर्च हुने काठमाडौं फनपार्कका लगानीकर्तामध्येका एक अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । केबुलकार,मन्दिर, फनपार्क, रिसोर्ट तथा रेष्टुरेण्टसहितको यो आयोजना सम्पन्न गर्दा तीन दुई अर्ब पच्चीस करोड लाग्ने अनुमान गरिएको पौडेलले बताए । तर, निर्माण सम्पन्न गर्दा यसको लागत केही बढ्न सक्ने देखिएको उनको भनाइ छ । यहाँबाट काठमाडौं शहरको दृश्य हेर्न र सूर्योदय तथा सुर्यास्तको मनमोहक दृश्य हेर्नचाहनेहरुका लागि लक्षित गरी यो आयोजना सुरु गरिएको पनि उनले बताए । सबै वर्ग र उमेर समूहका व्यक्तिका लागि यो आयोजना लक्षित रहेको धारणा उनले व्यक्त गरे । केबल कार संचालन २०७३ वैशाखमा सुरु गर्ने लक्ष्य राखिएको भए पनि सुविधासम्पन्न रिसोर्टको निर्माण कार्य भने २०७४ को दशैंतिर सम्पन्न भैसक्ने पौडेलको भनाइ छ ।
यस आयोजनामा ग्लोबल आइएमई बैंक संचालक चन्द्र ढकाल, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, व्यवसायी उत्तम नेपाल लगायतको लगानी रहेको छ । काठमाडौं फनपार्क लिमिटेडद्वारा संचालित यस आयोजनाको ब्राण्डिङ चन्द्रागिरि हिल्सका नामबाट गरिने जानकारी समेत संचालकहरुले दिएका छन् ।
चन्द्रगिरि चुच्चुरोबाट देखिएको सूर्योदय र सूर्यास्तसहित हिमश्रृंखलासहितको रोमाञ्जक भिडियो :
काठमाडौंको थानकोट प्रहरी चौकीबाट मुख्य सडक छाडेर चन्द्रगिरि पर्वतिर मोडिने वित्तिकै केबलकारको तल्लो स्टेसनमा पुग्न सकिन्छ । तल्लो स्टेसनदेखि पहाडको टुप्पोसम्म पुग्न कच्ची बाटो समेत रहेको छ ।
केबल कार निर्माण चरणमा हेलिकोप्टरले पिलर ओसारेको लगायतका दृश्यसहितको अर्को भिडियो यस्तो छ :













