२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक मनाउन सरकारले माघ २७ गते वुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बुधबार विदा दिने निर्णय गरेको हो। त्यस्तै माघ २६ देखि २८ गतेसम्म नेपालभरका सरकारी कार्यालयहरु, विदेशमा रहेका दूतावास र नियोगको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि सरकारले गरेको छ। माघ २६ देखि २८ गतेसम्म कुनै औपचारिक तथा सार्वजनिक कार्यक्रम नगर्ने र माघ २८ र २९ गते परराष्ट्र मन्त्रालय, विदेशमा रहेका दूतावास र नियोगमा शोकपुस्तिका राख्ने निर्णय गरेको जानकारी कानुनमन्त्री अग्नि खरेलले दिए।
सरकारले कोइरालाको निधनप्रति दुख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना गरेको छ। त्यस्तै उनको अन्त्येष्टी राजकीय सम्मानका साथ गर्न तोप र सलामी तथा अन्य व्यवस्था गृह मन्त्रीले मिलाउने निर्णय गरेको छ।











