नेपाली कांग्रेसका दिवंगत सभापति सुशील कोइरालाप्रति उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विहान महाराजगञ्जस्थित कोइराला निवासमा पुगेर श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सरकारका मन्त्रीहरुले पनि निवासमै पुगेर कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ता, संवैधानिक निकायका पदाधिकारी, न्यायाधीशहरु, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशा र व्यवसायका व्यक्तिहरु पनि कोइराला निवास पुगेका थिए । कोइरालालाई श्रद्धाञ्जलि दिन विशिष्ट व्यक्ति तथा सर्वसाधारणहरु कांग्रेस पार्टी कार्यालय सानेपा हुँदै दशरथ रंगशालामा पुगेका छन् । पूर्वराष्ट्रपति डा रामवरण यादव, संविधान सभाका तत्कालीन अध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतले कांग्रेस पार्टी कार्यालय सानेपा पुगेर श्रद्धाञ्जलि दिएका थिए ।
कोइरालाको श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर वुधबार दिउँसो २ बजेसम्म रंगशालामा राखिने छ ।













