१९ माघ, काठमाडौं । नेकपा एमालेका शिर्ष नेताहरुले बिभिन्न बहानामा मुलुक टुक्राउने प्रयास भइरहेको टिप्पणी गरेका छन् । मदन भण्डारी अध्ययन प्रतिष्ठानले मंगलबार काठमाडौमा गरेको संविधानको कार्यान्वयन, राष्ट्र र पार्टी निर्माण विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले संघीयताका कारण मुलुक विखण्डन नभई झन एकताबद्ध हुने समेत बताए ।
कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अन्तिम समयसम्म पनि राष्ट्रिय स्वतन्त्रता र स्वाधिनताका लागी लडाई जारी रहने बताए । भारतले जुन उद्देश्यका साथ नाकाबन्दी गरेको छ , त्यो उदेश्य पुरा हुनै नसक्ने धारणा उनले व्यक्त गरे । एमालले राष्ट्रियताका लागि कुनै शक्तिसँग पनि सम्झौता नगर्ने उल्लेख खनालको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले मलुक टुक्राउने कसैको प्रयत्न पनि सफल नहुने धारणा व्यक्त गरे । उनले जाति विशेष भित्रका शोषकले नै जनता र मुलुकलाई टुक्राउने प्रयत्न गरेको बताए ।
त्यस्तै नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्रको अन्तरसंघर्षले अन्ततः पार्टीलाई नै कमजोर पार्ने बताएका थिए । त्यस्तै अन्य नेताहरुले पार्टीलाई एकताबद्ध गर्दै मुलुकलाई अघि बढाउनका लागि सबै एक भएर लाग्नुपर्ने उल्लेख गरेका थिए ।













