क्रन्दन चापागाई
राणा शासन अन्त्यका लागि लडेका सहिदहरुलाई प्रधानमन्त्री केपी ओलीले सहिद स्मारक पुगेर श्रद्धाञ्जलि दिँदै थिए । त्यही समय मेरो मोबाइलको घण्टी बज्यो । अपरिचित मोबाइलबाट फोन आएको थियो । ‘हेलो’ भनेँ । दुईतीनपल्ट हेलो भनेपछि ‘चापागाईं हो’ भन्ने प्रश्न आयो । ठाडो प्रश्न सुनेर झट्ट रिस पनि उठ्यो । पक्कै कुनै मान्यजन आफन्तले हुनुपर्छ भनेर मैले ‘हो’ भन्ने जवाफसहित नम्र भएर ‘को बोल्नु भो’ भन्ने प्रश्न गरेँ । उताबाट अर्को प्रश्न आयो – ‘मलाई चिन्या छ ?’ मैले भनेँ – ‘चिन्न सकिन ।’ फेरि अर्को मूर्ख प्रश्न आयो – ‘म कति वर्ष भएजस्तो लाग्छ ? मेरो उमेर कति भए होला ?’
रिसको पारो अझै चढ्दै थियो उतैबाट फेरि स्पष्टिकरण आयो – ‘मलाई बाबुले आफ्नै हातले लेखेर फोन नम्बर दिएको रहेछ अनि मैले फोन गर्या । म लक्ष्मणप्रसाद रिमाल ।’ झन् अप्ठेरो पर्यो । कुनबेला कसलाई फोन नम्बर दिइएको थियो सम्झिने कुरा भएन । उनले यतिमै चिनोस् भन्ने ठानेर केहीबेर अल्झाए र फेरि भने – ‘म धरै उमेर खाएको मान्छे ।’ मैले यही मौका छोपेर भनेँ – ‘उमेर भएकै मान्छे जस्तो लागेर त मैले आदरपूर्ण तरिकाले बोलिरहेको नि ।’ उनले फेरि सोधे – ‘मेरो उमेर कति भए होला ?’ स्वर सुनेकै आधारमा मैले भनेँ – ‘असीको वरिपरि होला ।’ उनले भने – ‘अलिअलि त मिल्यो । बट आइ एम ९२ इयरस ओल्ड । म मोहनशमशेरका पालाको सरकारी कारिन्दा ।’
यति भनेपछि दिमागको बत्ती बल्यो । मोहनशमशेरका पालामा सरकारी सेवा सुरु गरेका उनले सचिवसम्म पुगेर अवकाश पाएका थिए र बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला निजामती सेवा दिवसमा उनलाई सम्मानित गरिएको थियो ।
मैले भनेँ – ‘म हजुरलाई भेट्न आउँला नि कहाँ बस्नुहुन्छ । उनले भने विशालनगर कोलोनी ‘ख’ मा ।’
अपराह्नतिर म उनको घर खोज्दै विशालनगरको कोलोनी ‘ख’ मा पुगेँ । ‘ख’ नम्बर कोलोनीको बाहिरको मूल गेटमै गार्ड रहेछ । नाम लिएर सोधेँ गार्डले चिनेको रहेनछ । फोन गरेँ . उनले अङ्ग्रेजीमा भने ‘गेट नम्बर टु सेभेन वान ।’ टु सेभेन टु गेटको सामुन्नेबाटै फोन गरेको मैले टु सेभेन वान गेट खोज्न कोलोनीभरि घुमेँ, भेटिएन । फेरि फर्केर टु सेभेन टु मा आइपुग्दा एक जना महिला गेट खोलेर उभिइरहेकी थिइन् । घर त्यही रहेछ । बुढेसकालमा मानिसलाई घर नम्बर पनि विर्सिने समस्या हुनु अनौठो होइन भन्दै म भित्र पसेँ । अलिकति कम्पाउण्ड भएको घरभित्रै उनले बोलाए ।
बैठक कक्षमा पस्ने वित्तिकै उनले एउटा श्यामश्वेत तस्वीर देखाउँदै भने- ‘मेरो पिताजीलाई चिनेको छ ?’ मसँग जवाफ थिएन । उनले आफैं – ‘जवाफ दिए उहाँ पद्म कन्या कलेजको पहिलो प्रिन्सिपल ।’
त्यसपछि उनले आफ्नो छोरापट्टि र छोरीपट्टिका सबैको तस्वीर देखाउँदै वर्णन गर्न थाले । यो सबै मलाई आवश्यक थिएन । उनको बारेमा छोटो कुरा गरेर फर्कने सोचमा म थिएँ ।
त्यसपछि उनले आफ्नो पुस्तक र आफ्नो बारेमा लेखेको नेपाल पत्रिका लिएर भूइँमै बसे । झ्यालबाट कोठाभित्रै घाम छिरेको थियो । त्यही घाममा बसेर उनले फेहरिस्त सुनाए ।
राणाकाल, प्रजातन्त्रकाल, बहुदलकाल र त्यसपछिको पञ्चायतकालमा आफूले जागिर खाएका गफ आफ्नै पारामा भन्थे । मैले सोधेको प्रश्नको जवाफ सिधा दिँदैनथे केवल आफ्नै शैलीमा उनले गफ सुनाए । मोहनशमशेरले सुवेदारको पदमा वि. सं. २००२ मा नोकरी दिएको र २०३० मा सचिव पदबाट अवकाश पाएको कुरा उनले सुनाए । नोकरीबाट अवकाश पाउँदा उनी ४९ वर्षका रहेछन् ।
नोकरीको शिलशिलामा आफूले भ्रष्ट्राचार नगरेको तर दुईपल्ट भ्रष्ट्राचार गरेको आरोप लागेको बताए । एउटा आरोप जग्गासम्बन्धि रहेछ भने अर्कोचाहिँ उपसचिव भैसकेपछि सरकारी गाडी चढेर पाटनको अशोक सिनेमा हलमा सिनेमा हेर्न गएको विषयमा । गृहमन्त्रालयका उपसचिव रहेका उनलाई उनकै मातहतका विशेष प्रहरीले सिनेमा हेर्दाहेर्दै बाहिर बोलाएर विवरण लिएको उनले सुनाए । त्यसमा नसिहत पाएको बताउँदै उनले थपे अहिले सरकार सम्पत्तिको दुरुपयोगको कुनै लेखाजोखा छैन तर कारवाही खोई ? यससम्बन्धि कारवाही २०१५ सालमा विपी कोइराला नेतृत्वको सरकारले गरेको पनि उनले सुनाए । आफ्नो संस्मरणात्मक पुस्तकमा यो कुरा भने उनले लेखेका रहेनछन् ।
९२ वर्षको भएको बताउने रिमाल ६२ वर्षका जस्ता तन्दुरुस्त देखिन्थे । बीचबीचमा अङ्ग्रेजी मिसाएर कुरा गर्नुपर्ने उनको यो तन्दुरुस्तीको राज के होला मैले जिज्ञासा तेर्स्याएँ।
स्वास्थ्यमा हालै मात्र खुट्टा र घुँडा दुख्न थालेको उनले बताए । चस्मा नलगाई पुस्तकका अक्षर प्रष्ट पढ्न सक्ने, कान पनि स्पष्ट सुन्ने उनले आफूभन्दा बढी उमेरका कवि माधव घिमिरे र संस्कृतिविद् सत्यमोहन जोसीको पनि उदाहरण दिए ।
उनले खानामा खासै ध्यान नदिएको बताए । एम. ए. पढ्दा लागेको चुरोट खाने लत १२ वर्षपछि परिवारको दवावमा छाडेका रहेछन् । ५० वर्षको उमेरपछि मासु खान छाडे पनि मदिरा भने अझैसम्म पनि पिउने गरेको बताए । मदिराको कुरा चल्दै गर्दा दराजभित्र राखिएको चिभास रिगलतर्फ हेर्दै उनले भने एक महिनाजति भयो लिएको छैन । ‘रेड लेबल’देखि ‘व्हाइट हर्स’सम्म उनका मनपर्ने ब्राण्ड रहेछन् । उनले भने – ‘हाम्रो पालामा त सरकारी अड्डामै पार्टी हुन्थ्यो ।’
पहिलेपहिले मन्दिर दर्शनका लागि उनी दिनको एक घण्टाजति हिँड्थे रे । तर पछिल्लो समय रामदेवको योगा कहिलेकाहीँ गर्दा रहेछन् । त्यसो भए यस्तो स्वास्थ्य हुनुको राज के हो त मैले अन्तिम जिज्ञासा तेर्स्याएँ ।
उनले भने -‘भगवानले नै मलाई स्वस्थ बनाएका हुन् । मेरो अन्तःस्करण बलियो छ । मैले असल सोचेकै कारण म यस्तो भएको हुँला । अहिले पनि घरमा बस्दा सिर्जना गर्ने काम गर्दछु ।’
‘धेरै शासन व्यवस्था देखेको मान्छेलाई अहिले देशको अवस्था हेर्दा कस्तो लाग्छ ?’ मैले प्रश्न गरेँ ।
उनले भने – ‘संसार ब्यालेन्समा चलेको छ । तर, हाम्रो मुलुकमा ब्यालेन्स मिसिङ बिग्रियो । सबैभन्दा खराब कुरा त अहिलेका नेताको बुद्धि नै भ्रष्ट्र छ ।’
राणाकाल, प्रजातन्त्रकाल, बहुदलीय व्यवस्था, पञ्चायतकाल र अहिलेको गणतन्त्रसम्म आइपुग्दा कुन व्यवस्था ठीक लाग्यो ?
उनले झट्ट जवाफ दिए – ‘पञ्चायती व्यवस्था ।’ आफ्नो किताब देखाउँदै उनले थपे – ‘मैले यसमा लेखेको छु कि के थिएन पञ्चायतमा ? सब कुरा थियो ।’
मैले विदा मागेर हात जोडेँ । नजिकै बसेर हाम्रो कुराकानी सुनिरहेको आख्यान चापागाईंको हात समात्दै उनले भने कस्तो चिसो हात ? उनले थपे- ‘चिसो हात हुनेको मन न्यानो हुन्छ भन्थ्यो मेरो एक जना साथीले ।’ आख्यानको हात आफूतिर तान्दै उनले हस्तरेखा हेरे र भने – ‘मान्छे बुद्धिमान छ ।’
वयोवृद्ध रिमाललाई अझै धेरै कुरा गर्ने ईच्छा देखिन्थ्यो । उनी बोलिरहेकै थिए । हामी हिँड्यौं । हामी विदा भैसक्दा पनि उनी आफ्नो कलात्मक ढोकामा उभिएर सोध्दै थिए – ‘बाबुले आफ्नो नाम किन क्रन्दन राख्या ? वास्तवमा सबैतिर क्रन्दन नै क्रन्दन त छ नि ।’
घरबाट निस्केर केही पर पुगेपछि मोटरसाइकलको पछाडि बसेको आख्यानले भन्यो – ‘..अनि पञ्चायतमा के थिएन भन्दा, फ्रिडम थिएन भन्नु पर्दैनथ्यो त हजुरले ? ६ कक्षामा पढ्दै गरेको बालकको यो कुराले मेरो दिमाग एकछिन हल्लियो । नाजवाफ हुँदै भनेँ – ‘यो कुरा तिमीले त्यहीँ किन नभनेको ?’
१६ माघ, २०७२ काठमाडौं














