१५ माघ, वीरगंज । विगत साढे पँच महिनादेखि मधेशी मोर्चाले नाकाबन्दी गरेको वीरगन्ज–रक्सौल नाका आज बिहानदेखि अघोषित रुपमा खुलेको छ । यसैबीच सुख्खा बन्दरगाह समेत खुलेको छ ।
नाका खुलेको समाचार संकलन गर्न संचारकर्मीहरु पुगेपछि केही युवाहरुले आएर होहल्ला गरेका थिए । युवाहरुलाई उत्तेजक नबनाउने उद्देश्यले तत्कालका लागि सवारी साधन आवतजावत गरे पनि आजै रातिबाट नाका संचालन हुने जनाइएको छ । नाकामा मधेसी मोर्चाका नेता तथा कार्यकर्ता नै नरहेको त्यहाँस्थित संचारकर्मीले जानकारी दिए ।
आन्दोलनकारी धर्ना दिएको दगशजा क्षेत्रस्थित मितेरी पुलबाटै आज विहान पाचवटा मालवाहक ट्रक रक्सौलबाट वीरगन्ज भंसार प्रवेश गरेको छ । भारतबाट मेसेनरी पार्ट लिएर आएका ना १ ख ९७५६ ,ना १ ख ६७२५, ना १ ख २८९४,ना २ ख २६१५ र ना २ ख ७३११ नम्बरका मालवाहक ट्रक बिहान रक्सौलबाट वीरगन्ज भंसार प्रवेश गरेका हो । नेपाल तर्फबाट पनि करिब आधादर्जन भारतीय मालबाहक ट्रक भारत तर्फ प्रवेश गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।
नाकाबन्दीका कारण वीरगन्जमा लामो समयदेखि अलपत्र परेका एन एल ०१ डी ६८०८, एन एल ०१ डी ६८११ र एन एल ०१ डी ६८३८ नम्बरका भारतीय खाली ट्रकहरु रक्सौल गएका हुन् । बिहानदेखि जीप, कार लगायतका चार पाङग्रे साना सवारी सधानका साथै ट्याम्पो, रिक्सा र टँगाहरु पनि धर्नास्थलबाटै निवर्धारुपमा विहान १० बजेसम्म वीरगन्ज रक्सौल ओहोर दोहोर गरेका छन ।
मितेरी पुलको धर्नास्थलमा दुईजना मात्र आन्दोलनकारी बसेका बेला मालवाहक ट्रकहरु रक्सौलबाट वीरगन्ज र वीरगन्जबाट रक्सौल छिरेका हुन् । बिहान धर्नास्थलमा आन्दोलनकारीहरुको संख्या कम भएको बेला रक्सौलबाट मालवाहक ट्रकहरु वीरगन्ज छिरेको प्रत्यक्षदर्शीहरुले बताएका छन । बिहान साढे सात बजेतिर रक्सौल तर्फबाट उल्लेखनिय संख्यामा आएका व्यापारी र कारोबारीहरुले धर्नास्थल छेउमा आन्दोलनकारीले नाका अवरुद्ध पार्न तेस्र्याएको बासको ढाट हटाएर ट्रकहरु नेपाल भारत ओहोर दोहोर गरेको हो । बिहान रक्सौलबाट छिरेका मालवाहक ट्रक वीरगन्ज भन्सार कार्यालयको यार्डमा रहेका छन् । रक्सौलबाट हार्डवेयर, मेशीनरी पाटपूर्जा र कपडा बोेकेका ट्रक वीरगन्ज भित्रिएका ट्रकहरु अहिले वीरगन्ज भन्सार कार्यालयको यार्डमा रहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताउनु भयो । त्यसैगरी ड्राईपोर्ट नाकाबाट पनि दर्जनौ कन्टेनरहरु नेपाल प्रवेश गरेको छ । धर्नास्थल मितेरी पुलबाट नै मालबाहक ट्रक ओहोर दोहोर गरी रहेको खबर पाएलगतै मधेशी युवा गठबन्धनले पुन मितेरी पुल पुन रुपमा बन्द गराएका छन । रिक्सा, टाँगा, टेम्पु समेत सम्पूर्ण सवारी साधनहरु नेपाल भारत प्रवेशमा पुन रुपमा रोक लगाई धर्नास्थलमा टायर बाली प्रर्दशन गरी रहेका छन ।
विगत केही दिनदेखि बन्द खुकुलो भएलगतै वीरगन्ज लगायत स्थानमा जनजीवन सहज हुन थालेपछि सर्वसाधारणलाई राहत भएको छ । लामो दूरीका सवारी साधन चल्न थालेका छन् । यसअघि काठमाडौं, पोखरा लगायत सहर जाने गाडी समाउन बाराको जीतपुर र सिमरा पुग्नुपर्ने बाध्यता रहेको थियो । मितेरी पुल, बसपार्क र घण्टाघर चोकबाट काठमाडौं जाने टाटासुमो लगायतको सवारी साधनहरु समेत चलेका छन् । मुख्य बजारका पसल विहानै देखि निर्वाध खुल्न थालेका छन् । नया संविधानका अन्तरवस्तु र सीमांकनमा असन्तुष्टि राख्दै साढे ५ महिनादेखि जारी आन्दोलन औपचारिक रूपमा फिर्ता नभएकाले व्यवसायीले सुरक्षित महसुस गर्न सकेका छैनन् । वीरगन्ज–रक्सौल नाका अवरुद्ध रहेपनि अन्य नाकाबाट भित्रिएको इन्धन बन्द प्रभावित जिल्लामा समेत वितरण हुन थालेको छ । साढे पँच महिनापछि स्कुल बस चल्न थालेका छन् । मधेस आन्दोलनका कारण ९८ दिनसम्म बन्द रहेका विद्यालय गत मंसिर ६ देखि सुचारु भए पनि बस चल्न सकेका थिएनन् । सीमांकन र संविधानप्रति असन्तुष्ट मधेसी दलले वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा गत असोज ७ गते देखि धर्ना दिएर नाका ठप्प पार्दै आएका हुन् । यस्तै मधेसी दलहरुले आन्दोलन थालेको आज सय ६८ दिन पुगेको छ । सीमांन र संविधान प्रति असन्तुष्ट मधेसी दलले गत साउन ३० गते देखि आन्दोलन शुरु गरेका हुन् ।














