१२ माघ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नाकाबन्दीको कार्यक्रम स्थगित सीमा क्षेत्रको अवरोधको कार्यक्रम फिर्ता लिने घोषणा गरेको छ ।
मंगलबार काठमाडौमा आयोजित साक्षात्कारमा मोर्चाका दुई घटक दल तराई मधेश सद्भावना पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरुले माघ १८ गतेपछि सीमा क्षेत्र अवरोधको कार्यक्रम फिर्ता लिने बताएका हुन् । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र तराई मधेश लोकतान्त्रिक पार्टीका नेता जितेन्द्र सोनलले लामो समयदेखिको नाकाबन्दीका कारण जनताको जनजीवन निकै कष्टकर भएको भन्दै माघ १८ गते शिर्ष नेताको तहमा बैठक बसेर आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताए । उनीहरु दुवैले आन्दोलनको स्वरुप परिवर्तनका क्रममा सीमा क्षेत्रको अवरोधको कार्यक्रम फिर्ता लिने बताए ।
मोर्चाले गत असोज ६ गतेदेखि सीमा क्षेत्रमा धर्नाको कार्यक्रम गरेका कारण छिमेकी मुलुक भारतले धर्नालाई कारण देखाएर नेपालमा नाकाबन्दी गरिरहेको छ । भारतले नेपालगञ्ज, विराटनगर लगायतका नाकाबाट सामान पठाउन थाले पनि मोर्चाका कार्यकर्ताको धर्नालाई देखाएर सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्जबाट अझै मालवाहक ट्रक र इन्धनका ट्यांकर पठाउन मानेको छैन ।












