११ माघ, काठमाडौं । नेपाली कांग्रेसले सरकारले नै कालाबजारीलाई प्रश्रय दिइरहेको आरोप लगाएको छ ।

सोमबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै काग्रेस सांसद नवीन्द्रराज जोशीले सरकारले कालोबजारीलाई संरक्षण गरेको भन्दै भूमिगत अर्थतन्त्र चलेको आरोप लगाए । सरकारले भूकम्पपीडितको घर बनाउन कुनै चिन्ता नगरेको भन्दै उनले भत्किएको घर निर्माण गर्न जनता आतुर रहेको तर सरकारले ऋण उपलब्ध गराउन समेत सहयोग नगरेको आरोप लगाए। वर्षामा घर निर्माण हुन नसक्ने भएकोले ऋण तत्काल उपलब्ध गराउन उनले माग गरे । पुनर्निर्माण प्राधिकरणमा राजनीति गर्न खोजिएको प्रति उनले आपत्ति जनाए । त्यस्तै आम सञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम अघिल्लो सरकारले आदरपूर्वक राखेकोमा हटाउन लागिएको भन्ने सुन्नमा आएको भन्दै जोशीले देशका लागि योगदान गरेको व्यक्तिको नामको हटाउन नपाइने बताए । बैठकमा नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले रंगेली घटनाको सत्यतथ्य जाँचबुझ आयोग गठन हुनुपर्ने बताए । उनले जानीजानी एमालेको कार्यक्रम भाड्न हिंसात्मक घटना घटाइएको उनको भनाइ छ ।
विशेष समय लिएर बोल्ने अघिकांश सांसदहरुले मुलुकमा कालाबजारी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।











