११ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको ११औं र १२औं महाधिवेशनमा जिल्ला सभापति भएकाहरु सभापतिमा पुनः उठ्न नपाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले आगामी महिना हुन लागेको १३औँ महाधिवेशनको तयारीका लागि पार्टीले गर्ने जिल्ला अधिवेशनमा ११औं र १२औं महाधिवेशनका बेला सभापति भएकालाई फेरि उठ्न नपाउने निर्णय गरेको हो ।
कांग्रेसमा १८ जिल्ला सभापति ११औँ र १२औँ अधिवेशनबाट सभापति भइसकेका छन् । यीनले सभापति दोर्होयाउन पाउने छैनन् । फागुन २० देखि २३ सम्म १३औँ महाधिवेशन हुँदैछ। कांग्रेसले निर्वाचन सम्पन्न गर्न ७५ वटै जिल्लामा निर्वाचन अधिकृत पनि खटाईसकेको छ । बैठकले कांग्रेसले पार्टीभित्र विवादित बन्दै आइरहेको क्रियाशिल सदस्यता विवाद पनि मिलाउने निर्णय गरेको छ । क्रियाशिल सदस्यताको हकमा छानिबिन समितिको प्रतिवदनका आधारमा छानिएकालाई निर्वाचन समितिले प्राविधिक त्रुटि सच्याउन सक्ने गरि मिलाउने निर्णय गरेको छ ।माघ १५ गतेदेखि गाउँ अधिवेशन सुरू गर्ने निर्णय गरेको छ। यस्तै सरकार र राजनीतिक दल र सबै मधेसमा आन्दोलनरत दललाई अधिवेशन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।यसैगरी सरकारले संविधान संशोधन विधेयक पारितमा गरेकोमा खुसी व्यक्त गर्दै मधेसवादी दललाई नाकाबन्दी तत्काल हटाउन अनुरोध गरेको छ ।
अधिवेशनको तयारीका लागि भन्दै माघ र फागुनमा आफ्ना सांसदहरु संसद भवनमा उपस्थित नहुने निर्णय गरेको छ ।












