८ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मोरङको रंगेली र डायनीया घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

स्थानीय प्रशासनले सुरक्षा सतर्कता नअपनाउँदा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको भन्दै आयोगले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन एवं घाइतेहरुको तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
आयोगकी प्रवक्ता मोहना अन्सारीले शुक्रबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाको सत्य तथ्य छानविन गरेर दोषीलाई कानून बमोजिम कारबाही गर्न तथा मृतक परिवारलाई उचित राहत तथा क्षतिपूर्ति एवं घाइतेहरुको तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’
विज्ञप्तिमा प्रहरीले चलाएको गोली लागेर सर्वसाधारणको मृत्यु हुनु मानव अधिकारको स्थापित अन्तर्राष्ट्रिय मूल्य र मान्यता विपरीत भएको उल्लेख छ । आयोगले यस घटनाको स्थलगत अनुगमन गरिरहेको छ ।
‘शान्तिपूर्वक भेला हुन र सभा, जुलुस गर्न पाउने नागरिकको संविधान प्रदत्त अधिकार संरक्षण गर्न तथा नागरिकको जीवनको अधिकारको रक्षा गर्न आयोग सम्बन्धित निकायलाई पुनः आग्रह गर्दछ,’ आयोगको विज्ञप्तिमा लेखिएको छ ।
बिहीबार प्रहरीले चलाएको गोली लागेर रंगेली ४ चोपडा टोलकी ६० वर्षीया द्रोपदीदेवी चौधरी, बरडंगा २ का महादेव ऋषिदेव र डायनिया ९ का शिवु माझीको मृत्यु भएको थियो ।
आयोगले सार्थक वार्ता र संवादबाट नै जारी गतिरोधको यथाशीघ्र अन्त्य गर्न आयोग नेपाल सरकार र आन्दोलनरत पक्षको ध्यानाकर्षण गराएको छ ।











