दीपेश पौडेल
७ माघ, रौतहट । रौतहट प्रहरीले नक्कली नोट बनाउने उपकरण सहित कारोबारमा संग्लन रहेका ६ जनालाई पक्राउ गरी बिहिबार सर्वाजनिक गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका ९ बस्ने रामप्रवेश यादव , धनुषा देउपुरा ७ का मनोजकुमार महतो, गौर नगरपालिका ४ का जुगलकिशोर कुशवाह, सखुअवा धमौरा ३ का नारायण चौधरी, चन्द्रपुर नगरपालिका १३ बलुवाका ओसी महम्मद र भारत घोडासाहनका अभयकुमार प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट करिव ५० हजार नक्कली नेपाली नोट र मेसिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक गणेश रेग्मीले बताए । पक्राउ परेका रामप्रवेश यादवको बयानका आधारमा अन्य कारोबारीहरुलाई पक्राउ गरीएको उनले जानकारी दिए । प्रहरीले अनुसन्धान गर्ने क्रममा सखुअवा धमौरा स्थित नारायण चौधरीको घर भित्र जमिन मुनि गाडेको अवस्थामा नक्कली नोट फेला पारेको थियो । पक्राउ परेका चौधरीले प्रहरी समक्ष एक महिनादेखि नक्कली नोट बनाउन लागेको बताएका छन् ।
उनीहरुको साथबाट नक्कली नोट तथा मोबाइल, मोटरसाइकल, साइकल, नक्कली नोट बनाउन प्रयोग हुने मसी र कागज समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । नक्कली नोट पशु बजार, जुवा तास, ईटा उद्योग, ईन्धन खरिदमा प्रयोग हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।











